इटहरी : सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बिहीबार दिउँसो बेपत्ता भएका दुई सशस्त्र प्रहरी गोताखोरको खोजीका लागि विशेष उद्धार टोली परिचालन गरिएको छ।
चितवनको कुरिन्टारस्थित विपद् उद्धार तालिम शिक्षालयबाट डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय अनुभवी गोताखोर टोली बिहीबार राति पौने ११ बजे घटनास्थलतर्फ प्रस्थान गरेको हो।
टोलीमा विपद् उद्धार तालिमप्राप्त प्रशिक्षकहरू सहभागी छन्। टोली प्रमुख डीएसपी भण्डारी सन् २०१२ (वि.सं.२०६९) मा बङ्गलादेशमा गोताखोर तालिम लिएका र नेपालमै सञ्चालन हुने गोताखोर तालिममा समेत प्रशिक्षक रहिसकेका अनुभवी अधिकृत हुन्।
बेपत्ता हुनेहरूमा इलाम दरबन्दीका जवान हरिदेव राजवंशी र पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत जवान सुरज साउद रहेका छन्।
नियमित उद्धार अभ्यासका क्रममा उनीहरू सप्तकोशी नदीमा बेपत्ता भएको सशस्त्रका एसपी विक्रम हुमागाईँले बताए ।
घटनास्थलको अवस्था, पानीको बहाव र सम्भावित जोखिमको मूल्याङ्कनपछि डीएसपी भण्डारी नेतृत्वको टोलीले स्थलमै खोजी तथा उद्धार कार्य सञ्चालन गर्ने तयारी गरेको छ।
सशस्त्र प्रहरी बलले बेपत्ता गोताखोरहरूको सकुशल उद्धारको प्रयास जारी राखेको जनाएको छ।
यसैबिच शप्तकोशी नदीबाट बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ ।
टोलिले खोजी गर्ने क्रममा शप्तकोशी ब्यारेजबाट झन्डै २ किलोमिटर दक्षिणमा रहेको सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकाको पलार भन्ने स्थानमा बेपत्ता भएका राजवंशीको शव फेला परेको हो ।
दुई मध्ये एकको शव फेला परेपछि टोलिले सोही स्थान वरपरको क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको एसपी हुमागाईँले बताए ।
प्रतिक्रिया