हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ ।
मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्।
यसैबिच बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ८ मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए ।
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। कांग्रेसको भागमा परेको प्रदेशका १४ मध्ये ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् ।
यो पनि
प्रतिक्रिया