पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यही घरमा छौँ’, उनले भने । गाउँमा मलामी जाने समेत पाउन छाडिसकेको बगालेको भनाइ छ ।
रैनादेवी छहराका ८१ वर्षीय टिकाबहादुर थापा बुटवलमा रहेको मानव सेवा आश्रममा बस्न थालेको तीन वर्ष भयो । उमेर र ऊर्जा हुन्जेल खेती किसानी गरेरै छोरोछोरी हुर्काए, पढाए र बिहेसमेत गरिदिए । तर, उनी अहिले बूढेसकालमा भने एक्लिएका छन् । ‘बुढ्यौलीले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्न थाले,’ उनले भने, ‘मलाई चित्त दुख्यो, आश्रममा आएर बस्न थालेँ । अहिले आनन्द छ ।’ घर छोडेदेखि परिवारसँग उनको कुराकानी भएको छैन।
निस्दी गाउँपालिका मित्यालका नरबहादुर सारु ७५ वर्षको भए । तर, उनलाई छोराले अवहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफूहरू एक्लिएको भन्दै उनी चित्त बुझाउँछन् ।
‘हातखुट्टा चलुञ्जेल काम गरेर सहर बस्ने गर्छन्, यहाँ आउँदैनन्’, उनले भने, ‘छोरीको बिहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बूढाबूढी मात्रै बस्नुको अर्को विकल्प के छ र ?’ उसो त सोही ठाउँका ७८ वर्षीय खड्का राना पनि एक्लै जीवन बिताउन थालेको पाँच वर्ष भयो ।
उनका चार छोरा, दुई छोरी र एक श्रीमती थिए । श्रीमती बितेको छ वर्ष भयो । ‘छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरीहरु आफ्नो घर–घरमा छन्,’ उनले भने, ‘अहिले एक्लै जीवन बिताइरहनु परेको छ ।’ उमेर बढ्दै, शक्ति घट्दै गएपछि आफन्त पनि बिस्तारै टाढिने गरेको उनको भोगाइ छ । रानाले वृद्धाभत्ताले जसोतसो जीविका चलाउँदै आएका छन् ।
तानसेनकी मीना विकको पनि एक छोरी छन् । उनका श्रीमान्को दुई वर्षअघि मृत्यु भयो । भएकी एक छोरीको विवाह भएको छ । विक उमेरले ६८ वर्षकी भइन् । उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘सुरुका दिनमा कति दुःख पाइयो । छोरीलाई तरकारी बेचेरै पढाएँ, अहिले उनी अर्काको घरमा छन् म भने एक्लै दिन काटिरहेकी छु ।’ एकल महिलाले पाउने भत्ताले अहिले जीवन गुजारिरहनु परेको उनको भनाइ छ ।
तानसेन छेर्लुङ्गका ७३ वर्षीय शिवप्रसाद भट्टराई पनि छ सन्तानका बाबु हुन् । सबै बालबच्चाका साथ रहँदा सँगै खाना खाँदा रमाइलो हुने उनी सम्झन्छन् । ‘एउटा छोरा बाहिर छ, अरू काठमाडौँमा बस्छन्’, उनले भने, ‘यहाँ त हामी दुई बूढाबूढी मात्र बस्छौं । सधैँ सबै बच्चा घरमै हुँदा जे पकाए पनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौँ, खाना पनि राम्रोसँग रुच्दैन’, उनले थपे । छोराछोरीले खेतबारीमा काम गर्न नरुचाएको उनी बताउँछन्। ‘यहाँ खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्’, उनले भने, ‘यहाँ घर खाली हुन्छ, तर छोराहरू कोठा लिएर सहरमा बस्न रुचाउँछन्, उनीहरू त दसैँ–तिहारमा यसो दुईरतीन दिन घर बस्नेगरी आउँछन्, अनि गइहाल्छन्’, उनले भने ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय अधिकांश ज्येष्ठ नागरिकको पीडा उस्तै छ । जवानीमा अनेक घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिक जीवनको उत्तराद्र्धमा एक्लो महसुस गर्दै आएका छन् ।
गरिखाने उमेरका छोराछोरी भविष्य बनाउन जसै लाखापाखा लाग्दै जान्छन्, घरगाउँमा पाकाहरू एक्लिँदै छन् ।
विश्वव्यापीकरण, बढ्दो सहरीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लो हुँदै गएका हुन् । ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्ने ज्येष्ठ नागरिक नै भेटिन्छन् ।
आधुनिकतासँगै मान्छेको दैनिकी प्रविधिमा रमाएको छ। कृत्रिम बौद्धिकताले मानिसको सिर्जनात्मक शक्ति ह्रास हुँदै छ । हिंसा, दुव्र्यवहार, मानवताविरुद्धका घटना बढ्दै गइरहेका छन्।
आर्थिक, सामाजिक, शारीरिक, मानसिक र यौन दुव्र्यवहारको सिकारसमेत ज्येष्ठ नागरिकहरू बनिरहेका छन्। हिजोको संयुक्त परिवार आज ‘एकल’ मा परिणत हुँदै गएको सरोकारवालाहरु बताउँछन्।
आफ्ना बालबच्चाबाहेक जन्म दिने बाबुआमाका लागि सन्तानले समय निकाल्न सक्दैनन् । एकछिन उनीहरूसँगै बसी उनीहरूका कथाव्यथा सुन्न पनि भ्याउँदैनन् । अति व्यस्त जीवनशैली, यान्त्रिक उपकरणको प्रयोग बढेको छ । आफ्नै छोरा, बुहारी, नातिनातिनीसँग विरानो बन्दै गएका छन् ।
डाँडामाथिको घाम बनेका वृद्धवृद्धासँग सम्मानजनक व्यवहार गर्नुपर्ने नागरिक समाजका अगुवा पुष्करराज रेग्मीले बताए । उनले भने, ‘बाँचुन्जेल एक गाँस राम्ररी खुवाउन र एक वचन राम्रो बोल्न हामी किन कन्जुस्याइँ गर्छौं रु हामी आफ्ना अभिभावकलाई जस्तो व्यवहार गर्छौं, त्यस्तै पाठ हाम्रा सन्तानहरूले सिकिरहेका हुन्छन्, त्यसै पनि वृद्धावृद्धाहरुलाई सम्मान गर्नुपर्छ ।’
अभिभावकलाई जिउँदो हुञ्जेल मन लागेका खानेकुरा र लगाउने कपडा नदिने, जान चाहेको ठाउँमा नपुर्याइदिने, अपमान र तिरस्कार गर्ने अनि मरिसकेपछि दुःख बोकेको छु भन्दै सेतो पहिरन लगाएर श्राद्धमा पिण्ड चढाउनु, पितृ प्रसाद भनेर मान्छेलाई बोलाएर खुवाउनु युक्तिसङ्गत नरहेको रेग्मीको भनाइ छ ।
सन्तानहरू जन्म दिने आमाबुबालाई घरको बोझ सम्झी आश्रम पठाएर कर्तव्य र दायित्वबाट विमुख हुँदै गएको दुःखलाग्दो अवस्था बनेको छ । जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका असहाय ज्येष्ठ नागरिक झनै हिंसाको सिकार भएका छन् ।
जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेला सहनुपर्ने समस्या ज्येष्ठ नागरिकले भोग्नु परेको छ ।
बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने र सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्ने व्यवहारले ज्येष्ठ नागरिकले कठिनाइ भोग्नु परेको हो ।
जुन अभिभावकहरू सन्तानका लागि दस नङ्ग्रा खियाउँदा–खियाउँदै आफ्ना लागि केही गर्न सक्दैनन्, तिनको सहारा हुन प्रायः सन्तान तयार हुँदैनन् ।
कसैले भने बाबुआमाको सम्पत्ति नपाउन्जेल माया र आदरको नाटक गर्ने अनि सम्पत्ति हात परेपछि तिनलाई आश्रममा पुर्याउने गरेका उदाहरण भेटिन्छन् । कोही भने आफ्ना बच्चाहरू ससाना हुन्जेल वृद्ध अभिभावकहरूसँग बस्ने अनि जब बच्चाहरू हुर्कन्छन्, कि आफू छुट्टिएर बस्ने नत्र अभिभावकहरूलाई नै घरबाट निकालिदिने गर्छन् ।
प्रतिक्रिया