बिपी प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

मंगलबार, २० साउन २०८२

धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवा सुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो । 

फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब तथा सेवा सुविधा माग गर्दै धर्ना बसेका छन् । चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन् । कर्मचारीको धर्नाका कारण विशेष गरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन् । औषधि नपाएपछि बिरामी तथा तिनका आफन्तहरू निजी फार्मेसीमा गएर महँगो मूल्य तिर्न बाध्य भएका हुन् ।

“अस्पतालको फार्मेसीबाट औषधि लिने आसमा आएका थियौँ, तर सेवा बन्द भएको जानकारी पाएपछि बाहिरको मेडिकलबाट महँगोमा औषधि किन्नुपरेको छ”, मोरङको उर्लाबारीबाट श्रीमतीको उपचारका लागि धरान आएका विकास मगरले भने, “उपचारमा ढिलाइ हुनुका साथै आर्थिक भार पनि दोब्बर परेको छ ।”

प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदै आएको छ । कर्मचारीलाई तलब तथा अन्य सेवा सुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि सात महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ । 

तलब तथा सेवा सुविधाको माग गर्दै पटक पटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरू बताउँछन् । वर्षौँदेखि सेवा दिँदै आए पनि नियमित तलब उपलब्ध नहुँदा परिवारको खर्च चलाउन समस्या भइरहेको भन्दै तलब नआएसम्म काममा फर्किने अवस्था नरहेको आन्दोलनमा सहभागी कर्मचारीहरूको भनाई छ ।

फार्मेसी विभागका कर्मचारी विवेक दाहालले भने, आन्दोलन जारी छ, यसको समस्या समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछु ।

विसं २०७० मङ्सिर ८ गते केटिएम सर्भिसेसँग तीन वर्षका लागि सेवा सम्झौता गरिएको थियो । पछि सो सम्झौताको म्याद थप गरी सेवा निरन्तरता दिइएको थियो । सम्झौताअनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारद्वारा जारी गरिएको विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानुन विपरीत भएको उल्लेख छ । विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल, तालाबन्दीजस्ता गतिविधि गर्न कानुनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सुचारु गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ ।

प्रतिष्ठानले यस्तो घटनाले बिरामीको स्वास्थ्य सेवामा प्रतिकूल असर पु¥याएको र संस्थाको छवि समेत प्रभावित भएको जनाउँदै शीघ्र समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार