बाजुरा । बाजुरा जिल्लाको प्रमुख धार्मिक स्थल बडिमालिका मन्दिरमा साउन पूर्णिमामा दर्शन तथा पूजा अर्चना गर्न जाने हजारौँ तीर्थालु भक्तजनहरू त्यस तर्फ प्रस्थान गरेका छन् ।
प्रत्येक वर्ष साउन पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन विशेष पूजा गरिने बडिमालिका मन्दिरमा यस वर्ष पनि हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
मङ्गलवार बिहान बाजुराको सदरमुकाम मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी र बडीमालिका नगरपालिकाका वडा अध्यक्ष अर्जुन नाथको संयोजकत्वमा सरकारी टोली विशेष डोला सहित बडिमालिकातर्फ प्रस्थान गरेको हो । टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सलामी अर्पण गरी विधिवत् रूपमा विदाई गरेको थियो ।
चार दिनको कठिन पैदल यात्रा पछि तीर्थालुहरु बडिमालिका मन्दिर पुग्ने गर्दछन् । जहाँ चतुर्दशीको दिन विशेष पूजा, मेलापर्व र दर्शन हुने परम्परा रहँदै आएको छ । यसै क्रममा बुढिनन्दा मन्दिरमा समेत पूजा गर्न आजैदेखि भक्तजनहरूको ओइरो लागेको छ ।
बढ्दो आस्था र सहभागिता
बडिमालिका पूजा व्यवस्थापन समितिका अनुसार, यो वर्ष विगतका वर्षहरूको तुलनामा झन् धेरै श्रद्धालुहरूको सहभागिता रहनेछ । नेपाल सहित विदेशबाट समेत भक्तजनहरू बडिमालिका दर्शनका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । स्थानीयबासीहरुका अनुसार, पछिल्लो समय बडिमालिका मन्दिरप्रति धार्मिक मात्र नभई पर्यटकीय आकर्षण पनि बढ्दो छ ।
प्राकृतिक सुन्दरतासहितको पवित्र तीर्थ
समुद्र सतहदेखि करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित बडिमालिका मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरताको अनुपम सङ्गमको रूपमा परिचित हुँदै आएको छ । डाँडाकाँडा, हरियाली वनजंगल, रङ्गीचङ्गी फूलहरू, दुर्लभ जडीबुटी र मनोरम दृश्यले हरेक तीर्थालुलाई मोहित बनाउने गरेको छ ।
धार्मिक मान्यताअनुसार, बडिमालिका मन्दिरमा पूजा अर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । विशेष गरी साउन पूर्णिमाको अवसरमा पूजा गर्दा विशेष फल प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।
धार्मिक पर्यटनको सम्भावना
बडिमालिका र बुढिनन्दा जस्ता धार्मिक गन्तव्यले बाजुरा जिल्लामा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । पछिल्लो समय यी स्थलहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा पनि चर्चामा रहेका छन्, जसले गर्दा स्वदेशी तथा विदेशी पर्यटकहरूको चाँसो बढ्दै गएको छ ।
बडिमालिका मन्दिरको पूजा तथा तीर्थयात्रा न केवल धार्मिक आस्थाको विषय हो, यो नेपालको धार्मिक र प्राकृतिक सम्पदाको गौरवपूर्ण प्रतीक पनि हो । यस्तो समृद्ध स्थलको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनले आगामी दिनमा धार्मिक पर्यटनको दिगो आधार तयार गर्न सक्ने बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाले जानकारी दिइन् ।
प्रतिक्रिया