सिरहा : इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटेलमा अनुगमन सुरु गरिएको छ ।
अनुगमनका क्रममा बुधवार म्याद गुज्रेका पेय पदार्थ तथा सडे गलेका खानेकुरा बिक्रिवितरण गर्ने चार वटा होटेललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।
इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिराहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटेलहरूको अनुगमन सुरु गरेका हुन् ।
संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटेलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटेललाई रु पाँच हजार जरिवाना गरिएको छ ।
यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासु सँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटेललाई पनि रु पाँच हजार जरिवाना तोकिएको छ ।
यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किराना स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ ।
उक्त होटेलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेय पदार्थ फेला परेपछि रु १० हजार जरिवाना तोकिएको छ ।
उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।
अनुगमनका क्रममा होटल सम्राट् इन र चौधरी होटेलले आधारभूत रूपमा होटेलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटेलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो ।
उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटेलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।
प्रतिक्रिया