काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन्।
नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूले ध्यानाकर्षण गराउन महरको सचिवालयमा भेट गरेका अवसरमा उनले यस्तो धारणा राखेका हुन्।
उनले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उल्लेख गर्दै अघिल्ला सरकारसँग भएको सहमति कार्यान्वयनमा वर्तमान सरकार संवेदनशील नदेखिएको गुनासो गरे।
महरले मन्त्री परिषद्को बैठकबाट सम्बोधन गर्न सकिने धेरै मागहरू रहेका बताउँदै ती मागहरू तत्काल टुंग्याउन बैठक राख्नुपर्ने धारणा राखे। बाँकी विषयहरू वर्गीकरण गरेर समय तालिका बनाई अघि बढ्न सकिने स्पष्ट पारे।
शिक्षकहरूले शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलन गरिरहेको अवस्थामा उनीहरूको आत्मसम्मानको ख्याल गर्दै निष्कर्ष निकाल्न प्रधानमन्त्री स्वयं थप सक्रिय हुनुपर्ने महरको भनाइ छ।
साथै, देशको वर्तमान परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै शिक्षक र सरकारबीच संवादमार्फत सहमति बन्नुपर्ने उनले जोड दिए।
प्रतिक्रिया