इलाम : कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता इलाममा हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघको आयोजनामा वैशाख ४ देखि ६ गतेसम्म मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने संघका अध्यक्ष हुकुम थेबेले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा ७ विधामा खेल हुनेछन् मेन्स डबल, मेन्स सिंगल, मिक्स डबल, भेट्रान्स डबल (४५+), सुपर भेट्रान्स डबल (५५+), प्लस भेट्रान डबल, र अन्डर–१५ ब्वाइज सिंगल।
“स्वास्थ्यका लागि मात्र होइन, राष्ट्रका लागि पनि खेलकुद” भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका खेलाडी सहभागी हुनेछन्।
खेल विजेतालाई ३० हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद पुरस्कार दिइनेछ। प्रतियोगिता इलाम नगरपालिकाको सहयोग र विभिन्न स्रोतबाट संकलित बजेटमा सञ्चालन हुनेछ। जिल्लामा प्रदेशस्तरको यस्तो प्रतियोगिता पहिलोपटक हुन लागेको अध्यक्ष थेबेको भनाइ छ।
ब्याडमिन्टनप्रति चासो बढ्दो रहेको र यसले व्यायाम तथा अनुशासनमा मद्दत पुर्याउने बताए। प्रतियोगिता जिल्ला प्रहरी कार्यालयको कभर्ड हलमा हुनेछ भने अन्डर–१५ ब्वाइज सिंगल खेल तरकारी बजारछेउको कोर्टमा हुनेछ।
भारतका खेलाडीसमेत सहभागि हुन सक्ने आयोजकको अनुमान छ। आयोजक समिति सचिव हेमराज ढकालका अनुसार प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुनेछन्।
थेबेले इलाममा पहिल्यैदेखि कोर्ट भए पनि खेलको निरन्तरता नहुँदा ब्याडमिन्टन ओझेलमा परेको बताए। अब भने खेलकुदमार्फत बालबालिकालाई कुलत, मोबाइल र टिभीको लतबाट जोगाउने आशा गरिएको छ।
प्रतिक्रिया