काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ मा रहेको चौपत्ता अस्पताल (सहिद स्मृति सामुदायिक अस्पताल) लाई धुलिखेल अस्पतालको आउटरिच सेन्टरको रूपमा सञ्चालन गर्ने तयारी भएको छ ।
पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालले आउटरिच सेन्टरका रूपमा सञ्चालन गर्न तयार भएको हो ।
सांसद चौधरीको आग्रह अनुसार धुलिखेल अस्पतालका चिकित्सकको एक टोली अस्पतालको अवलोकनका लागि आज नवलपरासी पुगेको छ ।
स्वास्थ्य सामग्री राम्रो भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको चौपत्ता अस्पताललाई सांसद चौधरीले नेपालकै ख्यातिप्राप्त अस्पताललाई आउटरिच सेन्टरका रूपमा सञ्चालन गर्न पहल गरेका थिए ।
उनले यो क्षेत्रकै मात्र नभएर वरिपरिका जिल्लाका नागरिकका लागि पनि राम्रो स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
यसअघि सांसद चौधरीकै पहलमा चौपत्ता अस्पताललाई ६ वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो ।
डायलासिस मेसिन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लब अफ धुलिखेलले उपलब्ध गराएको हो । यसका लागि धुलिखेल अस्पतालले प्राविधिक सहयोग गरेको हो ।
शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेन्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमुना र रिफरर अस्पतालको रूपमा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
सांसद चौधरीको सचिवालयका अनुसार धुलिखेल अस्पतालको टिमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गर्नेछ ।
धुलिखेल अस्पतालको आउटरिच सेन्टरका रूपमा सञ्चालन भए चौपत्तामा भर्ना हुने बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका बिरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिनेछ ।
सांसद चौधरीकै पहलमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको काँचुली फेरेको छ भने बर्दघाटमै ट्रमा सेन्टर निर्माण कार्य भइरहेको छ । काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा बन्न लागेको हो ।
प्रतिक्रिया