विराटनगर । विराटनगरबाट शुक्रबार दिउँसो १ जना भारतीय नागरिकको साथदेखि ७ लाख नेपाली रूपैयाँ बरामद भएको छ ।
स्रोत नखुलेको रकम साथबाट बरामद भएपछि भारत जोगवनीका ५० वर्षीय सुधीर श्रीवास्तवलाई दिउँसो २ः१५ बजेतिर पक्राउ गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बेला श्रीवास्तव को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार थिए । नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट नेपाली ७ लाख रूपैयाँ बरामद भएको जोशीले बताए । श्रीवास्तव नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बोकेर नेपाल छिरेका थिए ।
साथबाट अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको डीएसपी जोशीले बताए । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
उनले उक्त नोट कहाँबाट र किन ल्याएका हुन् भन्ने खुलाउन चाहेका छैनन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया