सप्तकोशी बैंकको रकम हिनामिनामा प्रकरणः पूर्वसीईओसहित ३ जनालाई कैद र जरिबाना

शुक्रबार, ०५ बैशाख २०८२
विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको रेमिट्यान्स खाताबाट करोडौं रकम हिनामिनाको घटनामा संलग्न ठहर भएका बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसहित तीन जनालाई उच्च अदालत विराटनगरले कैद र जरिबाना सजाय सुनाएको छ। उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्द र न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले सुवेदी, प्रबन्धक तथा लेखा विभाग प्रमुख देवीप्रसाद भण्डारी र सामान्य सेवा विभागका सुपरभाइजर हिमाल भट्टराईलाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको हो। तीनै जनालाई जनही ४ वर्ष कैद र सुवेदीलाई थप १ वर्ष कैदको फैसला भएको छ। साथै, सबैलाई जनही ५ करोड २३ लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो बराबर जरिबाना तिर्नुपर्ने फैसला भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए। २०७८ साल मंसिरमा बेनामी उजुरीको आधारमा राष्ट्र बैंकले अनुगमन गर्दा सप्तकोशी बैंकको रेमिट ‘पार्किङ एकाउन्ट’बाट १५ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलेको थियो। अनुसन्धानबाट रकम सुवेदीकै आफन्तको खातामा जम्मा भएको देखिएपछि प्रहरी अनुसन्धानको दायरामा उनी पनि परेका थिए। सुवेदी र भट्टराई नातेदार (मामा–फुपूका छोरा) भएको पाइएको छ। प्रहरी अनुसन्धानपछि १२ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएकोमा ९ जनाले सफाइ पाएका छन्। दोषी ठहर गरिएका तीनै जना मोरङ कारागारमा थुनामा थिए। यसैबीच, पूर्वसीईओ सुवेदीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गर्दै विशेष अदालतले ३ वर्ष कैद, २ करोड ३७ लाख रुपैयाँ बिगो असुल र २३ लाख रुपैयाँ जरिबानासमेतको सजाय तोकेको छ। सप्तकोशी बैंकको कार्यक्षेत्र कोशी प्रदेशका सात जिल्लामा फैलिएको छ। बैंकले अब हिनामिना भएको रकम कानुनी प्रक्रियाबाट असुल गर्ने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार