इटहरी : गत चैत्र १३ गते इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । श्रेष्ठ इन्टरटेन्टमेन्ट एण्ड हस्पिटालिटी प्रा.लि.ले विज्ञप्ति जारी गर्दै आगलागीबाट सो बराबरको क्षतिको अनुमान गरेको उल्लेख गरेको हो ।
आगलागीको महिना दिन पुग्न लाग्दा निकालिएको विज्ञप्तिमा आगालागिबाट क्षति भएका सरसामानको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको उल्लेख गरिएको छ । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका बिचबाट जसोतसो तङ्ग्रिँदै गरेको व्यापार व्यवसायलाई उक्त आगलागीले ठुलो धक्का दिएको जनाइएको छ ।
आगलागीले पाँचौँ तला जलेर नष्ट भएको छ भने त्यसभन्दा माथिका तलाहरूमा तापक्रम र धुवाँले क्षति गरेको मुनीका तलाहरूमा पानीको फोहोराले क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगलागीपछि भवनको तेस्रो तलासम्मका पसलहरू सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रा.लिका सञ्चालक सिद्धार्थ श्रेष्ठले पाँचौँ तलामा रहेको क्युएफएक्स सिनेफ्लिक्स हल र छैटौँ तलादेखि नवौँ तलासम्म रहेको बरन्डा होटेलमा धेरै क्षति भएकोले पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने जनाएका छन् ।
हजारौँ मानिसको आवतजावत हुने यो आधुनिक, व्यवशायीक भवनको निर्माणमा सुरक्षाका अधिकतम मापदण्ड पालना गरिए पनि दुःखद घटना घटेको जनाउँदै सञ्चालक श्रेष्ठले भवनको पुनर्निर्माण गर्दा सुरक्षाको पक्षलाई अझ थप ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।
यस्तै प्रा.लि.को बिमा गरेको इन्सोरेन्स कम्पनी सिद्धार्थ इन्सोरेन्स कम्पनीले पनि प्रतिनिधि पठाएर क्षतिको विवरण सङ्कलन गरिरहेको प्रा.लिले जनाएको छ ।
गत चैत्र १३ गते इटहरीको मुख्य बजारमै रहेको प्लाजामा भीषण आगलागी भएको थियो । जुन आगो नियन्त्रणमा लिनका लागि एक दर्जन दमकलका सासै सुरक्षाकर्मीहरूलाई ६ घण्टा समय लागेको थियो ।
प्रतिक्रिया