गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...

शुक्रबार, ०५ बैशाख २०८२
नारायण न्यौपाने
काठमाडौँ : नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सुरु गरेको राजधानी केन्द्रित आन्दोलन आज १७ दिन पूरा भएको छ। माइतीघर–बानेश्वर सडक क्षेत्रमा दैनिक हुने आन्दोलन र प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा समस्या भएको छ। नियमित सडक जामले यात्रुले कठिनाइ भोग्नुपरेको छ भने ट्राफिक प्रहरीलाई व्यवस्थापनमा कठिनाइ भएको छ। मुख्य सडक प्रयोग गर्न नपाएपछि यात्रुले वैकल्पिक करिडोर सडक प्रयोग गर्नुपरेको छ। समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रु छट्पटाएका छन्। सडक जामले छोटो दूरी पार गर्न पनि घण्टौं लाग्ने गरेको गुनासो छ। प्रदर्शनले उपत्यकाभित्रका वैकल्पिक मार्ग र खोला करिडरमा सवारीको चाप बढेको छ। तर, शिक्षक आन्दोलन शान्तिपूर्ण र सभ्य देखिएको छ। राजनीतिक दललगायतलाई प्रेरणा दिने यो आन्दोलनले मुख्य सडकमा प्रदर्शन गरेकाले सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाउनुपरेको छ। आन्दोलनमा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा सुत्ने, सिट्ठी बजाउने, नाचगान गर्ने, जादु देखाउने, चुड्किला भन्ने जस्ता गतिविधि गरेका छन्। शिक्षणमा प्रयोग हुने माइक, खैजडी, मादलसहित आन्दोलनमा सहभागी भएका छन्। स्थानीय कला, संस्कृति र वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत माग पूरा गर्न सरकारलाई दबाब दिने शैली अपनाएका छन्। चर्को घाममा पनि शिक्षकहरू सडकमा नाच्ने, एक्लै वा समूहमा सेल्फी खिच्नेमा व्यस्त छन्। आन्दोलनमा जिल्ला र पालिकास्तरका शिक्षकको सहभागिता छ। महासंघले सहयोग र समर्थनका लागि सबैलाई आह्वान गरेको छ। पछिल्लो समय हरेक दिन बिहान १२:०० बजे माइतीघर–बबरमहलमा भेला भएर व्यानरसहित जुलुस, भाषण र नाचगान गर्ने शिक्षकको दैनिकी बनेको छ। सहभागीको संख्या बढाउन सडकमै शिक्षक र विद्यालय कर्मचारीको हाजिरी व्यवस्था गरिएको छ। आन्दोलनमा देशभरका शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता छ। काठमाडौं उपत्यकाका सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा उपस्थित हुन निर्देशन दिइएको छ। सुरुका दिनको तुलनामा सहभागीको संख्या बढेको आन्दोलनका अगुवा बताउँछन्। केही संघसंस्थाले निःशुल्क खानेपानीको व्यवस्था गरेका छन्। आन्दोलनमा नाचगान, गीतसंगीत र कला प्रदर्शनीले माइतीघर–बानेश्वर क्षेत्रमा रौनकता थपेको छ। आन्दोलन क्षेत्रमा फलफूल, पानी र हल्का पेय पदार्थको सडक व्यापार बढेको छ। यसैबीच, सरकारले आन्दोलनरत शिक्षकलाई काममा फर्कन आग्रह गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले विद्यार्थी भर्ना, एसइई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षाको समयमा आन्दोलन स्थगित गर्न अनुरोध गरेको छ। नेपाल शिक्षक महासंघको प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान गरेको छ। सरकारले शिक्षकका मागप्रति संवेदनशील रहेको र निरन्तर संवादमा रहेको जनाएको छ। आन्दोलनको १७औं दिनमा शिक्षक प्रतिनिधिले भने, ‘दिनदिनै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र! भन्ने लाग्न सक्छ, नआत्तिनुस् उपलब्धि हुने क्रममा छ। हामीले यहाँ आएर कराएको सरकारले नसुने पनि हेरेको छ।’ सरकार र शिक्षक संगठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी गर्नुपर्नेमा आन्दोलनकारी दृढ छन्। विद्यार्थी भर्ना र नतिजा प्रकाशनको समयमा आन्दोलनले अभिभावक र विद्यार्थीलाई चिन्ता बढाएको छ। निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका सरकारी विद्यालयले विद्यार्थी भर्ना गर्न नसके थप समस्या हुने अभिभावकको गुनासो छ। विगतको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको शिक्षकको आरोप छ। आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनुपर्ने अवस्था अन्त्यका लागि हो। त्यसका लागि छिटो शिक्षा ऐन ल्याउनुपर्ने आन्दोलनकारी बताउँछन्। सरकारसँग २०८० साल असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउँदै अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आउन परेको प्रतिक्रिया दिए। आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साविक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन्।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

सम्बन्धित समाचार