भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

मंगलबार, ०९ बैशाख २०८२

काठमाडौँ : भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलवार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन ।

विद्युतमन्त्री खट्टरले मङ्गलवार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सब स्टेसन, २२०/३३ केभी बानेश्वर सब स्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सब स्टेसनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्नेछन् ।

आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

मङ्गलवार नै मन्त्री द्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबिच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय भएको छ । 


बुधवार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । विद्युतमन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार