इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि सुरु हुने परीक्षाका लागि बोर्डले आवश्यक सबै वैकल्पिक संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सञ्चालनमा चुनौती देखिए पनि बोर्डले स्थानीय तह, शिक्षा इकाइ, परीक्षा समन्वय समिति र प्रदेश कार्यालयसँग सहकार्य गरी परीक्षा अगाडि बढाउने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षक नभए पनि अन्य स्रोत प्रयोग गरेर परीक्षा सम्पन्न गरिने बताए ।
उनले आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजनमा परीक्षा सहज बनाउन अन्य संयन्त्र परिचालन गर्न सकिने पनि स्पष्ट पारेका हुन् । बाहिरी सुरक्षाका लागि भने प्रहरी परिचालन गरिने बोर्डले जनाएको छ ।
यस वर्ष कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी हुनेछन् । देशभर १ हजार ५९० परीक्षा केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया