इलाम : विगतका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै इलामका निजामती कर्मचारीहरूले प्रतिनिधिसभाका सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) कल्पना श्रेष्ठमार्फत यो ज्ञापनपत्र बुझाएका हुन्।
सर्वोच्च अदालतको आदेशपछि २०८० असोज २७ गते नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच सम्झौता भएको थियो। तर, ती सहमति अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै कर्मचारीहरूले ध्यानाकर्षण गराएका हुन्।
ज्ञापनपत्रमा संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई ‘निजामती कर्मचारी’को रूपमा परिभाषा गर्नुपर्ने, तीनै तहको आपसी सम्बन्ध सुदृढ हुने गरी कार्यालय प्रमुखबाहेकका कर्मचारीलाई संगठनमा आवद्ध हुन पाउने, र आठौं तहसम्मका कर्मचारीलाई सदस्यता दिनुपर्ने उल्लेख छ।
त्यस्तै, करार र अस्थायी कर्मचारीलाई एकपटक उमेरको सीमा नराखी प्रतिस्पर्धात्मक परीक्षामा सहभागी गराई, पास नगरेकालाई उपदानसहित अवकाश दिने व्यवस्था हुनुपर्ने जस्ता ११ बुँदे मागहरू पनि राखिएका छन्।
प्रतिक्रिया