मोरङको विराटचोकमा इन्टरनेट तार विस्तारका क्रममा करेन्ट लाग्दा एकको मृत्यु, एकको अवस्था गम्भीर

बुधबार, १० बैशाख २०८२

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–९ अन्तर्गत विराटचोकमा इन्टरनेटको तार स्थानान्तरणको क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो करिब ४ बजे चाँदनी पेट्रोल पम्प नजिकै टेकमाइन इन्टरनेटका दुई कर्मचारी पोलमा चढी तार सिफ्टिङको काम गर्दै थिए। सोही क्रममा पोलमा चढेका दुवैलाई एक्कासि करेन्ट लागेको र दुबै पोलबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका इलामको चुलाचुली गाउँपालिका–३ निवासी अन्दाजी २८ वर्षीय राजेश लावतीलाई तुरुन्तै उद्धार गरेर नोबेल शिक्षण अस्पताल, विराटनगर पु¥याइएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।

त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका अर्का कर्मचारी सुनसरीको इटहरी उपमहानगरपालिका–१७ निवासी अन्दाजी ४३ वर्षीय बालकुमार अधिकारीको अवस्था समेत चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको नाक र मुखबाट निरन्तर रक्तस्राव भइरहेको छ। अधिकारीलाई नोबेल अस्पतालबाट थप उपचारका लागि आर्या अस्पताल रिफर गरिएको छ।

दुबै जना टेकमाइन इन्टरनेट कम्पनीमा कार्यरत थिए र सोही कम्पनीको निर्देशनमा तार स्थानान्तरणको काममा खटिएका थिए। घटनापछि सुरक्षाको न्यूनतम मापदण्ड पालना नगरी जोखिमयुक्त काममा कामदार खटाउने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कार्यप्रणालीप्रति समेत प्रश्न उठ्न थालेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। उनले सुरक्षा सामग्री बिना यस्तो प्रकारको खतरनाक काम गराउनु लापरवाही भएको संकेत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार