कोशीका मुख्यमन्त्रीले भने, 'कोशी प्रदेशमा ‘खेलकुद ग्राम’ निर्माण हुने'

शनिबार, १३ बैशाख २०८२

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने घोषणा गरेका छन्।

शुक्रबार विराटनगरमा मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवा द्वारा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८२’ को उद्घाटन गर्दै उनले ग्राम स्थापनाले प्रदेशको खेलकुद क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको सहकार्यमा खेलकुदसम्बन्धी पठनपाठन र रङ्गशालालगायत आवश्यक संरचनाहरू निर्माण गरिने जानकारी गराए । साथै, आगामी तीन वर्षभित्र क्रिकेटका लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेट सुनिश्चित गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।

विराटनगर १९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा जारी प्रतियोगिता वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता ‘लिग कम नकआउट’ आधारमा खेलाइनेछ, जसमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीले नगद चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । साथै, उत्कृष्ट खेलाडी तथा ’प्लेयर अफ दी म्याच’ लाई पनि विशेष नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा नेपालका ’क’ श्रेणीका प्रमुख क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो दिन साबिक विजेता त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल क्लबलाई रोमाञ्चक खेलमा दुई विकेटले पराजित गरेको छ ।

यसअघि मनमोहन मेमोरियल कप फाउन्डेसनले २०७५ र २०७६ सालमा इनरुवामा पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार