विराटनगर । कोशी प्रदेशका कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको कृषि र पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन् ।
विराटनगरमा जारी लगानी सम्मेलनको प्रदेशको संवृद्धिमा पर्यटन र कृषि विषयक प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले लगानीका लागि उपयुक्त समय आएको बताए ।
पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ट्रेन फेरिएको बताए ।
'पहिला पहिला सुुबिधायुक्त जीवन जिउनका मानिसहरू घुमिफिर गर्ने गर्थे' जोशीले भने , 'अहिले आएर नभोगेको जीवन जिउन पाइने गन्तव्यहरू खोज्दै पर्यटकहरू हिँडिरहेका छन् । प्राकृतिक सौन्दर्ययता, एड्भेन्चर विविधताले गर्दा पर्यटकका लागि नेपाल गन्तव्य हुन सक्छ ।' जोशीले पर्यटन व्यवसायमा पनि प्रविधिको प्रवेश भएकाले प्रविधि मार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भइरहेको बताए ।
जोशीले नेपालमा पर्यटकको सङ्ख्या बढ्ने दाबी गरे । जोशीले भने ,' अबको गन्तव्य नेपाल जस्ता मुलुकहरू हुन् । त्यसैले नेपालको पर्यटन क्षेत्रमा लगानी गरे प्रतिफल हासिल हुन्छ ।'
कृषि क्षेत्रका विज्ञ डा तिलचन्द्र भट्टराईले कोशी प्रदेशका रैथाने बालीहरूको व्यबसायीक र आधुनिकीकरणमा लगानी गर्ने उपयुक्त समय भएको बताए ।
भट्टराईले भने , 'हाम्रा आफ्ना चिजहरूको हामीले प्रवर्धन गर्न सकेका छैनौ । प्रवर्धनका लागि ठुलो लगानीको खाँचो छ ।' भट्टराईले कोदो फापर अलैँची, अदुवा, चिया जस्ता क्षेत्रमा ठुलो लगानीको खाँचो रहेको बताए । लगानी बिना प्रतिफल हुन सक्दैन , यसका लागि सरकारले नीति र कानुनहरू समेत लगानी मैत्री बनाउनु पर्नेमा उनले जोड दिए ।
भट्टराईले भने , 'अहिले सरकारले एकै साथ धेरै कानुनहरू संशोधन गरेर लगानीको वातावरण बनाएको छ । यो अवसरमा लगानी गर्न सके प्रतिफल हासिल हुन्छ । हामीसँग परम्परागत बिउहरूको जातीय रूपमा सुधार गर्ने पुर्खाहरूको ज्ञान थियो ।' डा भट्टराईले भने, 'अहिले आएर हामीले त्यो ज्ञान बिर्सिएका छौ । यसलाई मात्रै आधुनिकीकरण गर्न सके आम्दानी बढ्छ ।' भट्टराईले चिया र अलैँचीको ठुलो सम्भावना भएको र त्यसको क्षेत्रमा रिसर्च र अनुसन्धान गर्नपर्ने बताए ।
प्यानलिष्टका रूपमा सहभागी उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी मैत्री वातावरण बनाउनका लागि विद्यामान नीति नियमहरूमा परिमार्जन गर्नु पर्ने बताए। राउतले झन्झटिलो प्रक्रियाका कारण लगानीकर्ताहरूलाई फाइदा नहुने भएकाले लगानी कर्ताहरू आकर्षित खालको कानुन बनाउन जोड दिए ।
उनले भने , 'एउटा उद्योगको दर्ता गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन रिपोट निकाल्नै १० महिना कुर्नपर्छ । यसले गर्दा ३ वर्षमा सम्पन्न गर्ने प्रोजेक्ट सम्पन्न गर्न ६ वर्ष लाग्छ त्यतिन्जेलमा लगानीकर्तालाई व्याजले मारिसकेको हुन्छ । तसर्थ यस कुरामा पनि ध्यान दिनुपर्छ। अहिले वातावरण बनेको छ हामी खुसी नै छौँ।'
कृषि उद्यमी शारदा बाँस्कोटाले तीन तहका सरकारकारी नीतिका कारण कृषि क्षेत्रमा लगानी गर्न समस्या भएको बताए । बाँस्कोटाले यसका लागि सरकारले सहजीकरण गर्नु पर्ने जोड दिए ।
प्रतिक्रिया