सुनसरीबाट कटुवा पेस्तोलसहित अन्सारी पक्राउ

शुक्रबार, १९ बैशाख २०८२

विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका छन् । 


सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले हरिनगरा गाउँपालिका–७ का अन्सारीलाई पक्राउ गरिएको बताए । उनका अनुसार अन्सारीलाई बिहीबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको हो ।


अन्सारीसँग स्थानीय सारिक जटको विवाद भएको थियो । विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको डीएसपी खतिवडाले बताए । उनका अनुसार २ जनाको विवाद हुँदा पेस्तोल निकालेको जानकारी प्राप्त हुनसाथ अन्सारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।


अन्सारीलाई पक्राउ गर्न प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको टोली परिचालन भएको थियो । उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको र कटुवा पेस्तोलसमेत बरामद भएाके खतिवडाले बताए ।


पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।


उनले पेस्तोल कहाँबाट ल्याएका हुन् र २ जनाबीचको विवाद के थियो भन्ने बारेमा खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार