धरान : नेपाल स्काउट अन्तर्गत प्रदेश स्काउट कार्यालय विराटनगरले वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई सम्मान गरेको छ।
नगरप्रमुख कार्कीलाई वराहक्षेत्रमा नेपाल स्काउटको विकास र विस्तारमा उल्लेखनीय भूमिका खेलेको आधारमा सम्मान गरिएको प्रदेश स्काउट प्रमुख आयुक्त हेमन्त भण्डारीले जानकारी दिए।
उनका अनुसार नेपाल स्काउटले कोशी प्रदेशका तीन जना नगर प्रमुखहरूलाई स्काउटको विस्तार तथा प्रवर्द्धनमा दिएको योगदानका लागि सम्मान गरेको हो। सम्मानितमध्ये वराहक्षेत्र नगरपालिकाका मेयर कार्की पनि एक हुन्।
'स्थानीय तहमा नगर प्रमुख स्काउट संरक्षकको भूमिकामा रहने भएकाले उनीहरूको सक्रियताले स्काउट आन्दोलनलाई थप बलियो बनाउन मद्दत पुगेको छ,' प्रमुख आयुक्त भण्डारीले भने।
नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया