काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अर्की एक नेपाली छात्राले आत्महत्या गरेपछि परराष्ट्र मन्त्रालयले पहलकदमी शुरू गरेको छ ।
केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनापछि मन्त्रालयले पहल शुरू गरेको हो ।
परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले सो घटनाका बारेमा बिस्तृत बुझ्ने काम भइरहेको जनाएकी छिन् । ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ,’ परराष्ट्र मन्त्री राणाले भनिन् ।
उनले सो घटनामा ज्यान गुमाउने मृतक प्रिसाप्रति श्रद्दाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।
उता भारतको उडिसा राज्यले पनि सो घटना बारेमा छानबिन गर्ने जनाएको छ। भारतको ओडिसा सरकारले नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको हो ।
बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि उडिसा सरकारले सो आदेश दिएको हो ।
बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान शुरू गरिसकेको उडिसा सरकारले जनाएको छ।
यसअघि केआईआईटीमा बुटवलकी प्रकृति लम्सालको गत फागुनमा सोही शैलीमा मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान पनि जारी नै छ ।
प्रतिक्रिया