झापा : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट मात्रै भारतबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल भित्रिएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा आयात गरिएको छ, जुन सबैभन्दा धेरै हो।
यस अवधिमा साउनदेखि वैशाखसम्म प्रत्येक महिनामा औसत लाखौँ केजी खरबुजा नेपाल भित्रिए पनि त्यही अनुपातमा स्वदेशी उत्पादन बजारमा प्रभावहीन बन्दै गएको स्थानीय व्यवसायीहरूको गुनासो छ। झापामा व्यावसायिक रूपमा खरबुजाखेती हुँदै आएको भए पनि मूल्य प्रतिस्पर्धामा कमजोर रहेकाले किसानहरू निराश छन्।
मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालका अनुसार गत वर्ष मात्रै फार्ममा १३ बिघा जमिनमा खरबुजा खेती गरेर ३५० मेट्रिक टन उत्पादन गरिएको थियो।
तर भारतबाट सस्तो मूल्यमा खरबुजा आयात हुँदा स्वदेशी उत्पादनको माग घटेको छ। 'हामीले गुणस्तरमा ध्यान दिँदा पनि मूल्य प्रतिस्पर्धा गर्न नसकेपछि खरिदकर्ता आयातित खरबुजातिर आकर्षित हुन्छन्,' खनालले भने।
गर्मीमा अत्यधिक माग हुने खरबुजाको उच्च परिमाणमा विदेशी निर्भरता रहँदा स्वदेशी किसानहरूको उत्पादन जोखिममा परेको देखिन्छ।
प्रतिक्रिया