झापा : झापामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा ५ दिनपछि मृत्यु भएको छ।
मेचीनगर नगरपालिका–१४ स्थित धाइजन चोकमा जेठ १३ गते मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा घाइते भएकी बुद्धशान्ति गाउँपालिका–५ की आकृति दनुवारको आइतबार दिउँसो मृत्यु भएको हो।
धुलाबारीबाट चारआलीतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता र पछाडि सवार आकृति दनुवार घाइते भएका थिए।
घाइते दनुवारको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकल चालक गुप्ताको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि ट्रकसहित चालक बिर्तामोड नगरपालिका–३ का ३४ वर्षीय विजय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया