ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

बुधबार, १६ पुस २०८२
प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी

सिन्धुली : प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको हो । 

सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २ सय बढी अवलोकन कर्ताहरु आउने गरेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।

उनका अनुसार नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।

हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई कोशेलीका रूपमा लैजाने गरेका स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिए । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव पारेको उनले बताए । 

नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब आठ करोड रुपैयाको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो । सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।

विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा ठुलो संख्यामा आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी घुम्न आउन थालेको पाइएको स्थानीयहरु सुनाउछन् । 

कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् ।

सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार