इलाम : क्यान्सर प्रभावितलाई उपचार सहयोग पुर्याउने उद्धेश्यले १८ सय किलो मिटर साइकल यात्रा गरिने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिनबाट करिब एक महिना लामो साइकल यात्रा गरिने जनाइएको हो ।
क्यान्सर पीडितका लागि कोष सङ्कलन गर्न साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालबिचको सहकार्यमा पाँचथरबाट १८ सय किलो मिटर साइकल यात्रा तय गरिने भएको छ । क्यान्सरलाई जितेका दुई राइडर सहित १० जनाको टोलीले पाँचथरको चिवा भन्ज्याङबाट बैतडीको झुलाघाट सम्म साइकल यात्रा गर्ने धुलिखेल अस्पतालका प्रा डा सुमनराज ताम्राकारले जानकारी दिए ।
डा. ताम्राकारका अनुसार क्यान्सर रोगलाई परास्त गर्ने राईडर हर्क लामा, कविता चित्रकार सहित ज्ञानेन्द्र स्थापित, धुलिखेल अस्पतालका प्रा डा ताम्राकार, व्यवसायी बुद्ध लामा परिवार, फोर्टिन पिक प्रडक्शनका फोटोग्राफर द्वय शिरीषमान र सुजल पौडेल लगायत टोलीमा सहभागी रहने छन् ।
विभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको भन्दै मनकारी दातालाई पुण्य कर्ममा जोडिन आह्वान समेत गरिएको छ । साइकल यात्रा सम्पन्न भइसकेपछि एक विशेष कार्यक्रमको आयोजना गरेर कोर्ष स्थापनाको महत्व जानकारी गराइने बताइएको छ । एक करोड रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । हालसम्म साइकल यात्रा सुरु नभइ सकेको अवस्थामा २० लाख माथि रकम सङ्कलन भइसकेको समेत बताइएको छ ।
प्रतिक्रिया