झापा । नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाँईले सबै धर्म, संस्कार, संस्कृति र परम्पराहरुको संरक्षण र सम्बद्र्धनमा नेपाली कांग्रेसको सबै तप्काले बिशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस बिर्तामोड–५, जात्रुबाडी टोल समितिद्वारा आयोजित बडादशैंको शुभकामना तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने सचिव हुमागाँईले देशकै जेठो र ठूलो पार्टी हुनुको नाताले जनताको आस्था र विश्वास जोडिएका सवालहरुले जहिल्यै कांग्रेसले अगुवाई गर्दै आएको बताए ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विविधताले भरिएको मुलुक भएको हुँदा नेपाली कांग्रेसले सबैको समान रुपमा संरक्षण र सम्मान गर्ने पनि हुमागाँईले बताए । कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीले धर्म, संस्कार, संस्कृतिका विषयमा अनावश्यक विवाद खडा गराएर देशमा जातजातिका बीचमा झगडा लगाउन केही तत्वले दुष्प्रयास गरिरहेको तर्फ संकेत गर्दै सदियौंदेखि मिलेर बसेका नेपालीहरु बीच फाटो ल्याउन खोज्नेहरुसँग सबै चनाखो हुनुपर्ने बताए ।
नेपाली कांग्रेस जात्रुबारी टोल समितिका सभापति रुपा राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सीता पौड्याल, जिल्ला सदस्य पुष्पलाल चौधरी, बिर्तामोड नगर सभापति भोजराज सिटौला, अधिवक्ता हेमकला कट्टेल, नेकपा एमाले जिल्ला सदस्य सुरेन राजवंशी, माओवादीका देवीचरण रेग्मी, एमालेका घनश्याम गिरी लगायतले शुभकामना दिएका थिए । खगेन्द्र प्रसाईलेले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनार्दन बाँस्कोटाले गरेका थिए ।
प्रतिक्रिया