विराटनगरको पशुपति ज्वेलर्सबाट ठूलो परिणाममा अवैध गरगहना बरामद

विहीबार, १६ कार्तिक २०८०
विराटनगर विराटनगरको पशुपति ज्वेलर्स (सुन–चाँदी पसल)बाट ठूलो परिणाममा अवैध गरगहना र सामग्री बरामद भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा रहेको ज्वेलर्समा बिहीबार दिउँसो सरकारी टोलीले छापा हान्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको हो । भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचना आउनसाथ विश्वजीत जाना सञ्चालक रहेको ज्वेलर्समा छापा हानिएको थियो । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले छापा हानेको हो । त्यस क्रममा ठूलो परिणाममा चाँदी तथा सुनबाट बनाइएका अवैध तयारी मालवस्तु फेला परेको जनाइएको छ । ज्वेलर्समा छापा हान्न पुगेका एक अधिकारीका अनुसार चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको छ । केही परिणाममा सुनका गहना पनि बरामद भएको जनाइएको छ । बरामद भएका सामग्री एवं गरगहना अन्दाजी १५ देखि २० किलो बराबरको हुनसक्ने अनुमान गरिएपनि परिणाम यकिन भइसकेको छैन । बट्टासहितको सामग्रीले ५ वटा बोरा भरिएको र तौल लिएपछि परिणाम यकिन हुने जनाइएको छ । सबै सामान आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा लगिएको छ । पसलमा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई पनि पक्राउ गरिएको छ । जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो । जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरु आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ । पशुपति ज्वलेर्समा छापा हान्नासाथ जानाबाट सबै कुरा खुल्ने भएपछि केही सञ्चालक आफ्नो ज्वेलर्स बन्द गरेर फरार भएका हुन् । ज्वेलर्स मालिक फरार बनेपछि भारतबाट अवैध हिसाबले ल्याएको सुन–चाँदीका गहना र सामग्री जानाको पसल हुँदै विभिन्न ज्वेलर्समा पुग्ने गरेको पुष्टि भएको भन्सारका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार