महाधिवेशन विवाद चर्किँदै जाँदा कांग्रेस विभाजनको संघारमा

शुक्रबार, १८ पुस २०८२

काठमाडौँ : महाधिवेशनको विषयमा शीर्षस्थ नेताबीच टकराब चर्किँदै जाँदा नेपाली काँग्रेस विभाजनको सङ्घारमा पुगेको छ । संस्थापन पक्षले महाधिवेशन रोक्ने रणनीति अपनाएको र संस्थापनइतर समूहले जसरी पनि महाधिवेशन गर्नुपर्ने दबाब बढाएसँगै पार्टी विभाजनको दिशातर्फ उन्मुख भएको हो ।

गत १५ मङ्सिरमा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन आगामी २६–२८ पुसमा काठमाडौँमा गर्ने निर्णय गरेको थियो । एक महिनाभन्दा बढी समय चलेको उक्त बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो ।

विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशनको मिति टुङ्ग्याएका थिए । तर तोकिएकै मितिमा महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको माग चर्किँदै जाँदा पार्टी नै विभाजनको डिलमा पुगेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष नियमित महाधिवेशन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि गर्ने रणनीतिमा देखिएको छ । यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको संस्थापनइतर समूह भने नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने अडानमा छन् ।

नियमित महाधिवेशन तोकिएको समयमा नहुने अवस्था देखिएपछि थापा–शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्ने रणनीतिसहित अघि बढेको छ । महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगित गरिएको’ घोषणा गर्दै विशेष महाधिवेशनको तयारी थालेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षधर नेताहरूले भने ‘औपचारिक छलफल नै नगरी एकलौटी रूपमा महाधिवेशन स्थगन गरिएको’ भन्दै आपत्ति जनाएका छन् । उनीहरू विशेष महाधिवेशन सकेसम्म रोक्ने, रोक्न नसके कार्यकर्ता परिचालन गरेर अवरोध गर्ने रणनीतिमा जुटेका छन् ।

थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल र बगैँचा २७ र २८ पुसका लागि बुक गरिसकेको छ । तर विशेष महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले औपचारिक निर्णय भने गरिसकेको छैन ।

केन्द्रीय समितिले १६ पुसमा गाउँ तथा नगर वडा अधिवेशन, १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश क्षेत्रीय अधिवेशन, २१ पुसमा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, २२ पुसमा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तथा २३ र २४ पुसमा प्रदेश अधिवेशन सम्पन्न गरी २६–२८ पुसमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो ।

तर उक्त कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनसमेत समयमै हुन नसकेपछि महाधिवेशन अनिश्चित बनेको हो । यही अनिश्चितताका बीच थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि हल बुक गरेर तयारीलाई तीव्र बनाएको छ ।

महाधिवेशनका विषयमा थापा र शर्माले बिहीबार सभापति देउवासँग छलफल गर्न खोजेका थिए । तर कार्यव्यस्तता देखाउँदै देउवाले भेट गर्न अस्वीकार गरेका छन् । ‘महाधिवेशन निर्वाचनअघि कि पछि गर्ने ?’ भन्ने विषय काङ्ग्रेसभित्र मुख्य विवादको विषय बनेको छ ।

नियमित महाधिवेशन तोकिएको समयमा हुन नसक्दा विशेष महाधिवेशनको माग चर्किँदै गएको छ । तर काङ्ग्रेसभित्र क्रियाशील सदस्यताको टुङ्गो अझै लाग्न सकेको छैन । क्रियाशील सदस्यता सम्बन्धी समिति संयोजक स्वयं महामन्त्री गगन थापा भए पनि सदस्यता कहिले टुङ्गो लाग्छ भन्ने प्रश्न पार्टीभित्र उठिरहेको छ । यद्यपि, महामन्त्री थापाले भने ‘५४ प्रतिशत प्रतिनिधिको समर्थन’ रहेको दाबी गर्दै विशेष महाधिवेशनमा अडान कायम राखेका छन् ।

महाधिवेशन स्थगनले थप अन्योल

काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार १५औँ नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् । उनीहरूले नियमित महाधिवेशन स्थगित भएपछि अब विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताएका छन् ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार