विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए ।
‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति’ कोइरालाले भने, ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म अर्थतन्त्रमा समस्या आइरहन्छ ।’
एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो,’ कोइरालाले भने, ‘सरकारले उद्योगीलाई बैंक सञ्चालन गर्न नदिने नीति बनाउनुपर्छ ।’
प्रतिक्रिया