रहस्य र शङ्काको घेरामा दुर्गा प्रसाईँ

आइतबार, १७ मंसिर २०८०
काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ यति बेला चर्चाको शिखरमा छन् । पूर्व राजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरु गरेका प्रसाईँ जनजीवनसँग जोडिएका मुद्दाका कारण मात्र चर्चामा छैनन् मुलुकको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने अभिव्यक्तिका कारण पनि चर्चामा छन् । सार्वजनिक रूपमा दलका नेताहरूलाई गाली गलौजमा उत्रिने गरेका प्रसाईँको रुखो बोली र असाधारण शब्दका कारण पनि चर्चामा छन् । उनले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन भन्दै अभियान सुरु गरेका उनले झापाको काँकडभिट्टास्थित मेची नदी किनारमा पहिलो कार्यक्रम गर्दा पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पूर्व युवराज पारस शाह साथमै थिए । आठ बुँदे माग राखेर अभियान सुरु गरेका प्रसाईँ आफैँमा धनाढ्य व्यक्ति त हुँदै हुन तर उनले सञ्चालन गरिरहेको अभियानलाई खर्च कसरी व्यवस्थापन हुन्छ भन्नेमा धेरैलाई जिज्ञासा छ । मङ्सिर ७ गते काठमाडौँको बल्खुमा विशाल प्रदर्शन गरेर सरकार र राजनीतिक दललाई चुनौती दिएका प्रसाईँलाई विभिन्न निकायबाट परिचालित भएको आरोप लाग्ने गर्छ । भारत तथा नेपालका हिन्दुवादी, बैङ्क तथा लघुवित्तका ऋणी, भारतको उच्चस्तरीय निकायको सहयोगमा प्रसाईँले अभियान चर्काएको चर्चा छ । यसै सिलसिलामा प्रसाईँलाई भारतले आन्दोलनका लागि ५० करोड रुपैयाँ सहयोग गर्न लागेको खबर बाहिर आएको छ । पूर्व बाल सैनिक लेनिन विष्टले गरेको दाबी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित कुमार डोभालका स्वकीय सचिवले प्रसाईँलाई व्यक्तिगत रूपमा भेटेर ५० करोडको प्रस्ताव राखेका छन् । विष्टले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आन्दोलनको पूर्ण रोडम्याप तयारी अवस्थामा रहेको बताएका छन् । उनले भनेका छन्,‘दुर्गा प्रसाईँको अभियानलाई भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित कुमार डोभालका स्वकीय सचिवले दुर्गा प्रसाईँलाई व्यक्तिगत रूपमै भेटी ५० करोड आर्थिकसहित आन्दोलनको पूर्ण रोडम्याप तयारी अवस्थामा छ ।’ त्यस्तै,शिवरात्रिको मौका छोपी भारतले आन्दोलन चर्काउनका लागि दुई लाख भारतीय बाबा, भिक्षु नेपाल पठाउन लागेको उनले उल्लेख गरेका छन् । उनी भन्छन्,‘अब हुने २०८० फागुन २५ को शिवरात्रिमा भारतीय बाबा, भिक्षुहरू भारतबाट दुई लाखसम्म नेपाल पठाउने र आन्दोलन चर्काउने रणनीति रहेको पाइन्छ ।’ यता,प्रसाईँ नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ ले फागुन १ गते वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने जनाएको छ । वसन्तपुरमा पूर्व राजा ज्ञानेन्द्रको हातबाट दियो बालेर व्यवस्था परिवर्तन गरिने महाअभियानको जिकिर छ । भारतको आरएसएसले पनि प्रसाईँको अभियानलाई साथ दिएको साथै आन्दोलनका लागि सीमावर्ती क्षेत्रका केही मान्छे पठाएर सहयोग गरिरहेको चर्चा छ । त्यति मात्र होइन नेपालमा अस्थिरता र द्वन्द्व निम्त्याउन अन्तर्राष्ट्रिय शक्तिहरूले प्रसाईँतिर नजर लगाएको अनुमान गरिन्छ । हिमानी शाहको हिमानी ट्रस्ट, दुबईका राजकुमार जुमा अल मोक्तुमले पनि प्रसाईँलाई आर्थिक सहयोग गर्ने गरेको चर्चा छ । तर प्रसाईँ आफूलाई कतैबाट सहयोग र परिचालन नभै स्वाभिमानी साथै राजनीतिक दलहरूबाट  वाक भएका नेपाली जनताको साथ रहेको दाबी गर्दै आइरहेका छन् । प्रसाईँले उत्पातै मच्चाउन लागे भनेर काउन्टरमा उत्रिएको एमाले भने प्रसाईंका कारण विक्षिप्त अवस्थामा छ । एमाले अध्यक्ष केपी ओली र युवा सङ्घका संस्थापक महेश बस्नेत विरुद्ध खनिएका प्रसाईँलाई ठिक पार्न एमालेले अपनाएको रणनीतिले एमाले स्वयमलाई ड्यामेज बनाउँदै लगेको विश्लेषण भइरहेको छ । अध्यक्ष ओली आफैँले उठाएको प्रसाईँविरुद्ध शक्ति प्रयोग गर्नुपर्ने अवस्था आफैँले निम्त्याएको विश्लेषण भइरहेको छ । प्रसाईँको तुलनामा एमालेजस्तो ठुलो दलका अनुशासित कार्यकर्ता उत्रिनु निकै लाजमर्दो कदम भएको बुझाइ छ । यद्यपि, जेसुकै भए पनि राजनीतिक पृष्ठभूमि प्रस्ट नभएको, अराजक, असङ्गठित प्रसाईँको अभियानले राजनीतिक उपलब्धि भने हासिल नहुने राजनीतिक विश्लेषकहरूको दाबी छ । केही साताअघि एक टेलिभिजन अन्तरवार्तामा प्रसाईँले ‘दसैंलगत्तै बैंकरहरूलाई कालोमोसो दल्ने मात्रै होइन, १६ वटा मारवाडी परिवारलाई नेपालबाट लखेट्ने हो’ भन्ने जस्ता साम्प्रदायिक र उग्र अभिव्यक्ति दिए। उनी मारवाडी र बैङ्कप्रति किन यति बढी उग्र भइरहेका छन् भन्नेबारेमा उनको व्यवसाय पनि जोडिएको हुनसक्ने बताइन्छ ।
किनकि आधा दर्जनभन्दा बढी बैङ्कबाट प्रसाईँले साढे पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका छन्। उक्त ऋणको साँवा ब्याज बुझाउन गाह्रो परेदेखि उनी सडकमा उत्रिन थालेका हुन भनिए पनि वास्तविकता उनी निकटले पनि बुझ्न सकिरहेका छैनन् । उनले उठाएका केही समसामयिक मुद्दाप्रति आम नागरिकको मौन समर्थन देखिन्छ । सयौँ मानिस त खुलेर सडकमै आएका छन् । जसका कारण सरकार र राजनीतिक दलहरू तर्सिएका छन् । हुन त प्रसाईँको अभियान र आन्दोलन दबाउन मात्र होइन उनलाई विभिन्न बहानामा खोरमै थुन्ने विभिन्न प्रयासहरू यद्यपि जारी छन् । कुनै आधार र प्रमाण जुट्न नसक्दा साथै ठुलो समूह उनीसँग जोडिएका कारण प्रहरी प्रसाईुंसँग सशङ्कित छ । बैङ्कहरू लगानी डुब्नसक्नेमा सचेत छन् । लघुबृत्त र सहकारीहरू ठुलो रकम गुमाउने पिरमा मौन छन् । वास्तवमा प्रसाईँ यति बेला सबैका लागि त्रासको आधार स्तम्भका रूपमा उभिएका छन् । रहस्य र शङ्काको घेरामा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार