हेटौँडा / उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
मानव सेवा आश्रमको मुख्य कार्यालय, हेटौँडाले उनलाई चितवनको खैरहनीस्थित अस्पतालबाट आज उद्धार गरेको हो ।
चितवनको खैरहनी नगरपालिका –११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना भएका ६४ वर्षीय तिम्सिना उपचारमा भएको खर्च तिर्न नसकेपछि गत ६ महिनादेखि अस्पतालमा नै बस्न बाध्य भएका थिए ।
मानव सेवा आश्रमले तिम्सिनाको उद्धारसँगै आश्रममा आश्रय र थप उपचार गरिदिने भएको छ । उद्धारपछि तिम्सिना हेटौँडा उपमहानगरपालिका –९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालयमा आश्रित रहेका छन ।
आश्रमका सूचना प्रविधि अधिकारी निरज पटेलले आश्रयका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको पहलमा तिम्सिनाको उद्धार गरिएको जानकारी दिए ।
अस्पतालमा उपचार गर्दाको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका हामीलाई सञ्चारमाध्यमबाट जानकारी पाएपछि अस्पताल प्रशासनसँग अस्पताललाई तिर्नुपर्ने शुल्कलायतका खर्च तिर्नु नपर्ने सहमति गरी उद्धार गरिएको आश्रमका सूचना प्रविधि अधिकारी पटेलले बताए ।
तिम्सिनाले भारतीय जेलमा लामो समय बिताएका थिए । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
६ महिनाअघिनै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि उपचार खर्च अस्पताललाई भुक्तानी गर्न नसक्दा घर ल्याउन नसकेको परिवारका सदस्यले बताउँदै आएका थिए ।
प्रतिक्रिया