राष्ट्रिय सभा निर्वाचनः बागमति प्रदेशमा गठबन्धनको पल्ला भारी

शुक्रबार, ०५ माघ २०८०
मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचको मिति नजिकिदै गर्दा को निर्वाचित होला भनेर हिसाबकिताब सुरु हुन थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सदस्य सभा निर्वाचनका लागि बागमती प्रदेशमा ४ जना निर्वाचित हुँदै छन् । यसको लागि ६ वटा राजनीतिक दलका १५ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् । एमालेले अन्य समूहबाट चितवनका त्रिलोचन निर्मल पौडेल, महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा र अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार बनाएको छ । प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ गरेर यहाँ कुल १० हजार ३३३ मतभार छ । बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७७० मतभार छ । अन्तरघात भएन भने सत्ता गठबन्धनको उम्मेदवारको पल्लाभारी हुनेमा दुईमत छैन। सत्ता गठबन्धनबाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३८५ मात्रै हुन आउँछ । स्थानीय तहका प्रमुख, उपप्रमुखको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ। यसरी बागमती प्रदेशको कुल मतदाता २३७ हुन्। मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ। जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १०७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा एमालेका ६० र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २१६ मतभार हुन आउँछ । यसरी बागमती प्रदेशको १ सय १९ स्थानीय तहको कुल मतभार ४ हजार ५०३ रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार