जसका सञ्चालक उनै माननीय तामाङ हुन्। तामाङको निर्माण कम्पनीले २०७७ असार २७ गते भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैयाँमा ठक्का लिएको थियो। निर्माणको काम ८० प्रतिशत पूरा भएको देखाउँदै कम्पनीले १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ।
काम भने जम्मा दुई किलोमिटर मात्रै भएको छ। तामाङले नक्कली प्रगति प्रतिवेदन देखाएर भुक्तानी लिएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए। ‘सात दिनभित्र सडक निर्माणको काम सुरु नगरिएर सडक आन्दोलन गर्दै मन्थली बजार बन्द गर्छौं। यो हाम्रो रहर होइन्, बाध्यता हो’, उनले भने।
सडक निर्माणका लागि पटक–पटक ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय आन्दोलित हुनुपरेको स्थानीय रवीन्द्रकुमार श्रेष्ठले बताए। उनका अनुसार मन्थली नगरपालिका–८ को वडा कार्यालयको अग्रसरतामा २०७९ पुस ६ गते निर्माण व्यवसायी र स्थानीयबीच भौतिक पूर्वाधार कार्यालय रामेछापमा बैठक बसेको थियो।
बैठकमा २०७९ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको थियो। तर, सहमति भएको पनि १० महिना बित्दा पनि निर्माण कम्पनीले काम सुरु नगरेपछि आन्दोलित हुनुपरेको स्थानीय घनश्याम श्रेष्ठले बताए।
गत मंसिर १५ गते व्यवसायीले सडक निर्माण तुरुन्त थाल्ने लिखित सम्झौता पनि गरेका थिए। त्यो सम्झौता भएको दुई महिना बितिसक्दा पनि माननीय ठेकेदारले काम सुरु नगरेको स्थानीय बताउँछन्।
‘हामीले सडक बनाइदिन माननीयज्यूलाई गाउँदेखि काठमाडौंस्थित उहाँको निवासमै पुगेर ज्ञापनपत्र बुझायौं। तर, हाम्रो कुरा सुनवाई भएन’, स्थानीय सुभास श्रेष्ठ भन्छन्, ‘एक फिटसम्म धुलो जमेको छ। गाडी गुड्यो कि धुलो उडिहाल्छ। धुलो उडेपछि बाटो नै देखिँदैन। कुनै दिन ठूलै दुर्घटना नहोला भन्न सकिन्न।’
भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा जनताले समस्या भोग्नु परिरहेको बताए। ‘यसपालि बजेट पनि बिनियोजन भएको छैन। त्यही कारण पनि सडक निर्माण सुरु नभएको हो।’ उनले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा काम गर्छौं भनिरहेको बताए। ‘व्यवसायीले काम गर्छौं भनिरहेका छन्। अब पनि काम नथाले कारवाही प्रक्रिया अघि बढाउँछौं’, उनले भने। सांसद तामाङले सडक निर्माणका लागि म्याद थप भएको बताउँदै काम सुरु हुने बताए। ‘अब बाँकी काम सुरु गर्छौं’, उनले भने, ‘फागुनभित्र काम सक्छौं।’
विद्यालय र स्वास्थ्यचौकी पनि अलपत्र
२०७२ सालको भूकम्पपछि चिसापानीको विद्यालय र स्वास्थ्यचौकी भवन जीर्ण भए। विभिन्न दाताको सहयोगमा भवन निर्माण थालियो। तर, लामो समय बितिसक्दा पनि भवन पूरा हुन सकेको छैन। सांसद तामाङलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय र अस्पताल भवनको पूरा गरिदिन आग्रह गर्दा पनि चासो नदिएको स्थानीयले बताए ।
२०७७-७८ मा एडीबीको आर्थिक सहयोगमा भीमेश्वर माविका दुई भवन ६ करोड ४५ लाख २७ हजार ९ सय ६८ रुपैयाँमा तामाङको कम्पनीले ठेक्का लिएको थियो।
सो कम्पनीले माउन्ट पुमोरी कम्पनीलाई पेटी ठेक्का दिएको थियो। निर्माण सुरु भएको ४ सय ५० दिन अर्थात् २०२४ मार्चभित्र सम्पन्न गर्नुपर्ने छ। तर, म्याद सकिनै लाग्दा पनि भवनको निर्माण अधुरै छ। संघर्ष समितका संयोजक श्रेष्ठ भन्छन्, ‘जीर्ण भवन भत्काएर नयाँ बनाउन थालियो। तर, समयमा बन्ने छाँटकाँट नहुँदा पढाइ प्रभावित भइरहेको छ।’
यसैगरी चिसापानीको स्वास्थ्यचौकी भवन निर्माण पनि पूरा नहुँदा सेवा सञ्चालनमा समस्या भइरहेको स्थानीयको गुनासो छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया