कांग्रेसको नीतिः प्रतिस्पर्धी दललाई दुष्मन घोषणा नगर्ने, लोकतन्त्रविरोधीसँग उदार नहुने

विहीबार, ०३ फागुन २०८०
काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेसले महासमितिमा प्रस्तुत गर्ने मूल प्रस्तावको राजनीतिक नीति खण्डमा कुनै पनि दललाई दुष्मन घोषणा नगर्ने उल्लेख गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको प्रस्तावमा कांग्रेसले राजनीतिक दललाई मित्र ठान्ने भन्दै कुनै दलप्रति दुष्मनीको साइनो नभएको उल्लेख छ । तर पार्टीले लोकतन्त्रविरोधीसँग कहिल्यै पनि उदार नहुने बताएको छ । ‘नेपाली कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्दछ । अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिस्पर्धा हुन्छ । आफूमात्र भएको कल्पना त घोर निरङ्कुशता हो,’ खड्काको प्रस्तावमा उल्लेख छ, ‘कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रह सहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन । शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल कांग्रेसका मित्र हुन् तर हत्या, हिंसा, लोकतन्त्रविरोधी गतिविधि भने हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन ।’ यस्तै लोकतन्त्रको गला रेट्नेप्रति भने कांग्रेस कहिल्यै उदार नहुने प्रस्तावमा उल्लेख छ । ‘लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने कांग्रेस कहिल्यै उदार हुन सक्दैन,’ प्रस्तावमा भनिएको छ, ‘उदारता र दलहरूप्रतिको सम्मान कांग्रेसको सीमा हो, तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रताविरुद्ध भने कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ ।’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले ‘जिम्मेवार नेपाली कांग्रेसः समुन्नत देश’ शीर्षकमा ५९ पृष्ठको मूल प्रस्ताव तयार पारेका छन् । जसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकसहितका विषय उल्लेख गरिएका छन् । खड्काले देशको अर्थतन्त्रबारे गम्भीर समीक्षा गर्दै निराश नागरिकमा आशा जगाउनुपर्ने पनि बताएका छन् । कांग्रेसले संविधानलाई थप समृद्ध र स्वीकार्य बनाउन पनि आवश्यक पहल गर्ने जनाएको छ । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा उपसभापति खड्काले नीतिसम्बन्धी, महामन्त्री गगन थापाले संगठनात्मक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । बैठकमा पेश गर्ने प्रस्तावबारे केन्द्रीय समिति बैठकले औपचारिक टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार