एमालेले हार्न मिल्दैन ओली

शनिबार, १७ चैत्र २०८०
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरेका छन् । शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको उल्लेख गरे । यसपटकको उपनिर्वाचनमा हार्न नमिल्ने पनि उनले बताए । उनले भने, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र नेकपा एमाले एकातिर, त्यस्तो अवस्थाको सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो । तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं । यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन । गत वर्षको निर्वाचनमा नेकपा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए ।’ पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ । गत वर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गए पनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ उनले सांकेतिक रुपमा आलोचना गरे । ‘हाम्रो पार्टीमा केही कमजोरी रहनु बेग्लै कुरा होला, केही मान्छेहरु सडेर गलेर जानु बेग्लै कुरा होला । एउटा राम्रो काम के भएको थियो भने कुहिएका आलुहरु बोराबाट निकालेर बाहिर फालिएका थिए,’उनले भने । बझाङमा उपनिर्वाचन भएको ठाउँमा डोरी अल्झ्याएर जितेको उल्लेख गर्दै सक्रियता र ऊर्जा लिएर अगाडि बढेमा एमाले जित निश्चित रहेको ओलीले दाबी गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार