विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो आयुर्वेद । खासगरी दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ । तर, विडम्बना, जुन आयुर्वेदका लागि उद्गम भूमिमा भने यसको महत्व नबुझिएको आयुर्बद अस्पतालमा पुगेकाहरु सुनाउछन् ।
झापाको लखनपुरमा रहेको प्रादेशिक आयुर्बेद अस्पतालमा उपचारका लागि मोरङको रतुवामाईबाट आएका श्याम लम्सालले भने, “हाम्रो यही भूगोल हो, जहाँ आयुर्वेदको खोज, अध्ययन र अभ्यास भए । हामीकहाँ करिब १० हजार वर्षभन्दा लामो इतिहास बोकेको छ आयुर्वेदिक उपचारले । तर, यो धेरैले बुझ्न सकिरहेका छैनन् ।”
विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी प्रादेशिक आयुर्बेद अस्पताल लखनपुरमा आउने गरेको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले जानकारी दिए । आयुर्बेदिक उपचार पद्धतीलाई बैकल्पिक उपचार पद्धतीका रुपमा हेर्ने चलन आजभोलि फेरिदै गएको डा. ठाकुर बताउँछन् ।
फरक विशेषता बोकेको यो उपचार पद्धतिलाई समेत अन्य उपचार पद्धति जस्तै प्रचारप्रसार र बिस्तार गर्ने हो भने स्वास्थ्य सेवाका लागि प्रचुर सम्भावना देखिने डा. ठाकुरको ठम्याइ छ ।
प्रतिक्रिया