कांग्रेसप्रति आक्रामक ओली : भन्छन्, ‘सम्हालिएर आउनु पर्यो’

मंगलबार, ०८ जेठ २०८१
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सम्हालिन आग्रह गरेका छन् । कांग्रेसप्रति आक्रामक देखिएका उनले अहिलेको अवस्था सिर्जना हुनुको सबै दोष कांग्रेसलाई लगाएका हुन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले मुलुकमा कांग्रेसले स्थिरता नचाहेको उल्लेख गरे । उनले कांग्रेसले सत्तामा मात्रै ध्यान दिएको पनि बताए । ‘सोचहरुको एकरुपता, प्रतिवद्धताहरुको एकरुपता र लोकतान्त्रिक मूल्य मान्यतामा उभिने कुराको गहिराइमा कांग्रेस पुग्न सकेको देखिएन,’ ओलीले भने, ‘सत्ताबाहेक अरु कुरामा कांग्रेसको ध्यान गएन ।’ कांग्रेसले अचम्मको अवस्था बनाएको बताउँदै उनले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास र मूल्य मान्यतामा कांग्रेस आउनुपर्ने बताए । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सरकारमा नहुँदा छटपटाउनु र पानीबाट बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गरेर कांग्रेसले अच्चम गरिरहेको उनको भनाइ छ । ‘कुनै विषयमा चित्त नबुझेमा अदालतमा मुद्दा हाल्दा हुन्छ । तर, कांग्रेसले यता भेट्यो यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जत फर्कियो, जसलाई देख्यो त्यता टोक्छ,’ ओलीले भने, ‘कांग्रेस आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने गाली गर्छ, मुख छाड्छ, बेइजेत गर्छ । कसैको इज्जत राख्दैन ।’ अब कांग्रेससँग सहकार्य नहुने उनले बताए । भने, ‘संविधान जारी भएपछि कार्यान्वयनका लागि सहमति आवश्यक थियो । त्यसका लागि हामीले प्रयास गर्यौं । तर, कांग्रेसले बाटो छाड्यो । अब केका लागि मिल्ने रु कसका लागि मिल्ने रु कसरी मिल्ने रु’ कांग्रेसले असमझदारी राखेर विरोध गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएको बताउँदै उनले संसदमा आफूहरुले विरोध गर्दागर्दै दर्जन कुराहरु पास भएको बताए । ओलीले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनिरहँदा लिनैपर्ने थियो । त्यहाँपनि कांग्रेसले समझदारी गर्न मान्नु भएन । जेठ ५ गते गरेको सहमति ६ गते बिहान तोड्नु भयो ।’ ओलीले जेठ ५ गते बेलुकाकै सहमति अनुसार हो भने संसदीय छानबिन समिति बन्ने बताए । ‘मुलुकको स्थायित्व र विकासतर्फ कांग्रेसको रुची छैन । रातभरि डेढ वर्षका लागि प्रधानमन्त्री भइदेउ भन्छ, अनि नमानेपछि भोलिपल्टबाट भ्रष्टाचारी भन्न थाल्छ । एमाले लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनको बाटोमा अगाडि बढेर जनताको समस्यालाई सम्बोधन गरौंभन्ने पक्षमा छ,’ उनले भने । ओलीले राष्ट्रिय राजनीतिमा अनेक समस्या देखा परिरहेको पनि बताए । ‘अहिले धेरै समस्याहरु आएका छन् । साम्प्रदायिकताका समस्या छन् । प्रतिगमनका आवाजहरु उठेका छन् । प्रतिगामी शक्तिहरु हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो देखिन्छ,’ उनले भने, ‘यी समस्यालाई ध्यानमा राखेर राष्ट्र एक ठाउँमा उभिने । राष्ट्रलाई एक ठाउँमा उभ्याउने । र आधारभूत कुरामा एक ठाउँमा उभिएर स्वस्थ्य प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । तर, त्यो कांग्रेसले बुझ्नै सकेन ।’ कांग्रेसको अवरोधबीच बजेट कसरी पास गर्नुहुन्छ त भन्ने जिज्ञासामा उनले विगतको स्मरण गरे । भने, ‘अहिलेसम्म घेराउमा बजेट पास भएका छैनन् रु १२ पल्ट हामीले घेराउ गर्दागर्दै बजेट पास भएका छन् । त्यतिबेला प्रतिपक्षले यसरी घेराउ गर्नै हुँदैन भन्नु हुन्थ्यो । अहिले त बडा अनौठो लाग्छ तपाईंहरुलाई । अहिले अघिल्लो दिन सहमति हुन्छ, अनि भोलिपल्ट तोडिन्छ । सहमति कसले तोडेको हो ?’ कांग्रेस यतिबेला पानीबिनाको बगरको माछा भएको ओलीको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार