लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा

मंगलबार, ०४ असार २०८१
झापा । पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् । शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकै बाली नष्ट भएको छ । झापा-२ स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार