विराटनगरमा सहकारीलाई व्यवस्थित बनाउन कार्यक्रम सञ्चालन

आइतबार, २० असोज २०८१
विराटनगर : विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरूबाट जानकारी गराउन सुरु गरेको छ । आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताए । ‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उनले भने, ‘अझ राजनैतिक दलका नेताहरूसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’ जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उनले जोड दिए । गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाले बताए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए । उनले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गरे । पराजुलीले बचतकर्ताहरूबाट संकलित रकम सञ्चालकहरूले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको बताए । महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताए । वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिए । सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उनको भनाइ थियो । सो अवसरमा जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औंल्याए । महानगर क्षेत्रभित्र सञ्चालित एक ७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी एक सय १६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् । उनीहरूलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार, सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराएका थिए । सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार