‘मेरो उम्मेदवारी तमाम ठूला मात्र नभएर स–साना व्यवसायीका लागि हो, मुलुक खोक्रो भइसक्ने अवस्थामा छ, आर्थिक रूपले देश समृद्व भएन,’ घिमिरे भन्छन्, ‘यहाँ नयाँ रोजगारी सृजना भएको छैन । दैनिक दुई हजार बढी नेपालीहरू रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् ।’
देशमै लगानी गरी रोजगारी सृजना गर्नका निम्ति निजी क्षेत्रलाई राज्यबाटै प्रोत्साहित हुनुपर्ने उनले बताए । ‘नेपालमा नै लगानी गरेर व्यापार व्यवसाय गर्छु भन्नेलाई समेत लगानी मैत्री वातावरण सृजना भएको छैन, यहाँ सरकार लगायत अन्य निकायहरूको समेत खुट्टा तान्ने प्रवृत्ति रहेको छ,’ उनले भने, ‘देश अहिले इतिहासकै कठिन मोडमा भएको कारण अहिलेसम्म कहिल्यै पनि व्यहोर्नु नपरेको व्यापार घाटा तथा व्यापारिक समस्याहरू यो क्षेत्रले व्यहोरिहरेको छ ।’ आगामी दिनमा झन् धेरै र ठूला समस्यासँगै चुनौती थपिने भएकाले यसको निराकरणका निम्ति आफ्नो उम्मेदवारी रहेको उनले सुनाए ।
देशमा विद्यमान राजनैतिक अस्थिरता विगतमा भएको नाकाबन्दी, कोरोनाका कारण देशव्यापी भएको लकडाउनले आम व्यवसायीलाई समस्याले गाँजेको उनी बताउँछन् ।
‘३ वर्ष अघि बैंकको ब्याजदर ६ प्रतिशत थियो भने अहिले बढेर २० प्रतिशतसम्म पुगेको छ । जबकि, व्यापार भने दिनानुदिन खस्कँदै गइरहेको छ, व्यापार गर्न लिएको ऋण व्यापार गरेर तिर्न सक्ने अवस्थामा व्यापारीहरू नभएर खाडी मुलुकमा गएर काम गरी उक्त ऋण तिर्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘यी र यस्तै समस्याहरूमा लड्न मेरो उम्मेदवारी हो । देशमा लगानी मैत्री वातावरण बनाउन पहल गर्नेछु । देशमा खर्च अत्यन्तै बढेर राज्यलाई आर्थिक भार समेत परेको छ । देशले निर्यातभन्दा धेरै आयात गर्नु पर्ने अवस्था रहेको छ ।’
खासगरी निजी क्षेत्रको समस्या समाधानमा राज्य उदासीन रहेको उनको तर्क छ । सरकार सञ्चालन गर्नेहरूबाटै दीगो भिजन नभएका कारण समस्या भइरहेको उनले बताए । ‘सरकार व्यापारिक मोडेलको हुनुपर्छ, निजी क्षेत्रले तिरेको करका कारण देश चलेको छ भन्ने बुझ्नुपर्छ,’ घिमिरे भन्छन्, ‘सरकारले निजी क्षेत्रलाई सहजीकरण नै गरेको छैन, यसकारण मैले यी तमाम समस्याका विषयमा आवाज उठाउनका लागि उम्मेदवारी दिएको हुँ ।’
प्रतिक्रिया