रीता घिमिरेलाई लाग्छ, डाहा र इर्श्या गर्नेहरुभन्दा नगर्नेहरु १० वर्ष बढी बाँच्छन्। तनहुँ, ब्यासकी हाल काठमाडौंमा बस्ने उनी २२ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी शिक्षण सम्बन्धी तालिमहरु पनि सञ्चालन गर्छिन्।
शिक्षकका रुपमा विभिन्न विद्यालयहरुमा काम गरेकी उनी अचेल राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न तालिम लिएर आफैंले विद्यालय, शिक्षक तालिम केन्द्र सञ्चालन गरिरहेकी छन्।
विभिन्न संस्थासँग आबद्ध भएर पूर्वप्राथमिक तहका बालबालिकाका लागि पुस्तक लेखन, शिक्षक तालिम सहजकर्ता, पूर्वप्राथमिक विद्यालय सल्लाहकार तथा अभिभावक शिक्षा सहयोगीका रुपमा सक्रिय छिन्।
तपाईंको रुचिको क्षेत्र के हो?
फुर्सदमा विभिन्न पुस्तकहरु पढ्न, साहित्यिक विधामा कलम चलाउन मन लाग्छ। बालबालिकाका उमेर अनुसारका कथाहरु लेख्न मन लाग्छ। कामले गर्दा छोराछोरी र परिवारलाई सोचेअनुसार समय दिन नपाए पनि फुर्सदमा मिठा मिठा परिकार बनाएर खुवाउनु पनि मेरो रुचिकै विषय हो।
कुन कुन सामाजिक सञ्जाल चलाउनुहुन्छ? कुनमा बढी सक्रिय हुनुहुन्छ?
सबै सामाजिक सञ्जाल सरसर्ती चलाउँछु। अझ बढी टुइटर र टिकटक मेरो प्राथमिकतामा पर्ने गर्छन्।
कति समय खर्च गर्नुहुन्छ?
खासै हिसाब राखेको छैन। दिनभरी सोच्नै भ्याउँदिन। बिहान-बेलुका अलि बढी सक्रिय हुन्छु तर मेरा सन्तानका अगाडि म धेरै सञ्जालमा व्यस्त भएँ भने मबाट उनीहरुले के सिक्ने? मलाई थाहा छ, अहिलेका बालबालिकाहरु हामीले यो गर, त्यो नगर भनेर मान्दैनन् बरु जे हामीले गछौं त्यही पछ्याइरहेका हुन्छ्न्।
हामी हाम्रा छोराछोरी असल चाहन्छौँ भने पहिला हामी आफैँ असल हुनु आवश्यक छ। त्यसैले अवस्था बुझेर चलाउँछु। र मेरा अधिकांश टिकटक र ट्विटरमा पोस्ट भएका भिडियोहरु सन्देशमूलक हुन्छन्। त्यो कुराको जानकारी परिवारमा हुन आवश्यक छ ताकि सञ्जाललाई सही उपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ।
के विषयमा लेख्नुहुन्छ खासगरी?
खासै यही नै भनेर मेरो रोजाइका विषय छैनन्। महिला तथा बालबालिकासम्बन्धी लेखहरु लेख्दा आनन्द लाग्छ। साहित्यप्रेमी भएको हुँदा आफूले जानेका विभिन्न विधामा पनि कलम चलाउँछु।
कस्तो बेला ट्विट बढी लेख्नुहुन्छ?
कहिलेकाहिँ बाटोमा यात्रा गरिरहँदा पनि केही कुरा मनमा तत्काल आइहाल्छ र लेखिहाल्छु। फेरि रमाइलो माहोल अनि दुःखद क्षणमा पनि समय अनुसारको ट्विट फुर्छन्।
के कुराले नयाँ ट्विट लेख्न प्रेरित गर्छ?
प्रायः ट्रेन्डिङगमा रहेका र आफूलाई त्यो विषयले छुन्छ भने पछि हट्दिन।
कस्ता कमेन्टले रिस उठाउँछन्?
मेरा कतिपय ट्विटहरु काल्पनिक हुन्छन्,कतिपय देखाइ र भोगाइका हुन्छन्। कतिपय पेशासँग सम्बन्धित हुन्छन् भने अधिकांश रमाइलोका लागि लेखिन्छ तर यहाँ मान्छेहरु केही शब्दका ट्विटको आधारमा ‘चरित्र र पेशा’ लाई जोडेर कमेन्ट गर्ने रहेछन् त्यस्ता व्यक्तिसँग चाहिँ अलि टाढै बस्न मन पराउँछु।
नकारात्मक कमेन्टकै कारण सञ्जालबाट टाढिने अवस्था आएको छ कि छैन?
म अलि बढी सेन्सेटिभ छु। कसैले मेरो बारेमा आजसम्म त्यस्तो सञ्जालबाटै टाढा जानुपर्ने नकारात्मक कमेन्ट गर्नुभएको छैन तर कहिलेकाहिँ आफूले एउटा सोचेर लेख्यो तर त्यसलाई बुझ पचाएर गलत अर्थ लगाइदिने जमातचाहिँ धेरै छ।
आफैंलाई सबैभन्दा बढी मन परेको ट्विट/स्टाटस कुन हो?
म त्यति धेरै पोख्त छु जस्तो लाग्दैन तर दुईचारवटा गजल त्यस्ता छन् जुन बेला बेलामा आफैँलाई रिट्वट गरिरहन मन लाग्छ।
कस्ता ट्विट मन पर्छ?
समसामयिक विषयमा गरेका ट्विट, साहित्य अनि समय सान्दर्भिक छ भने जोकसैको पनि मन पर्छ। शिक्षा, महिला तथा बालबालिकासम्बन्धी ट्विटहरु धेरै पढ्छु अनि कसैका रमाइला ट्विटहरु पढेर पनि आनन्द लिन्छु।
के विषयमा चाहिँ खासै ट्विट/स्टाटस लेखिएका छैनन् जस्तो लाग्छ?
नेपालमा अभिभावक शिक्षाको अत्यन्त खाँचो छ। जब अभिभावक आफैं शिक्षित हुनुहुन्न भने छोराछोरीको हेरचाहमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नकारात्मक प्रभाव परिरहेको हुन्छ, यस्ता गहन विषयमा मैले आजसम्म कसैको ट्विट पढ्न पाएकी छैन, नलेखेरै हो वा मैले नदेखेको हो, थाहा भएन।
कस्ता व्यक्तिलाई फलो गर्नुहुन्छ?
म फलोअर्सको धनी मान्छे हैन। बायोको आधारमा साथै आफन्त, साथीभाइ, परिचय खुलेका अनि महिलाहरुलाई सम्मान गर्ने मेरो फलोइङमा हुनुहुन्छ।
छद्म नाममा ट्विटर किन चलाइन्छ जस्तो लाग्छ?
कसैलाई हानी नपुर्याइ खोलिन्छ भने ती नितान्त व्यक्तिगत कुरा हुन्। तर यहाँ साँघुरो समाजमा आफूलाई स्वतन्त्र रुपमा छोड्नको लागि पनि मान्छेहरुले यस्ता अकाउन्टहरु खोलेर कुण्ठा पोख्ने पाइयो।
जनमत निर्माणमा सामाजिक सञ्जालको कस्तो भूमिका हुन्छ?
कोरोना महामारीले हामीलाई धेरै सिकायो। शिक्षा, स्वास्थलगायत हरेक कुराहरु सिक्ने माध्यम त भर्चुअल भयो भनेपछि असम्भव के होला र! व्यस्त समयमा सञ्जाल अझ बढी प्रभावकारी हुन्छ। कतिपय समय यस्तो आउँछ कि प्रत्यक्ष रुपमा व्यक्त गर्न नसकेका कुरा सञ्जालको माध्यमबाट प्रस्तुत गर्न अझ बढी सहज पाएकी छु मैले।
सञ्जालमा उठाइएका कुराको प्रभाव कत्तिको हुन्छ?
सामाजिक सञ्जालले समस्या मात्र ल्याउँदैन समाधान पनि गरेको छ। विशेषगरी ट्विटरमा अझ यस्ता घटनाहरु छिटो र आवाज निस्कने पाएकी छु। अहिले त विद्यालय स्तरदेखि नै प्रविधि सहितको शिक्षालाई प्राथमिकता पनि दिएका छौँ।
फेक ह्याण्डलबारे के भन्नुहुन्छ?
सकेसम्म त आफ्नो सही परिचय लिएर आउनु नै उपयुक्त हुन्छ। आफ्नो इच्छाको अकाउन्ट खोलेर कसैलाई हानी नपुर्याउने उद्देश्यले आउँदा फरक परेन तर विपरीत लिङ्गीको नाम राखेर चलाउनु गलत हो। सञ्जाल कसैको पेवा होइन, कसैबाट पनि व्यक्तिगत आँच पुर्याउने काम नगरौँ।
महिलामाथि अनेक व्यङ्ग्य र टिप्पणी गर्ने चलन पनि छ। कस्तो लाग्छ?
व्यक्तिगत रुपमा मैलेचाहिँ भोग्नुपरेको छैन तर यहाँ त शरीरका अङ्ग अनि लगाएका वस्त्रलाई केलाउँदै, महिला दिदीबहिनीहरुको अनावश्यक मूल्यांकन, टीका–टिप्पणी गरेको पनि पाएँ। पहिला सोच्थेँ, यस्ता कुराहरुलाई बेवास्ता गरेकै उपयुक्त हुन्छ तर हैन रहेछ, एक्सन लिनुपर्ने रहेछ, गरेका गल्तीहरुको शब्द शब्दमा लडेर प्रायश्चित अनि सचेत गराउँनुपर्दो रहेछ। यो मलाई ट्विटरले नै सिकाएको कुरा हो।
फलोअरहरुलाई के भन्न चाहनुहुन्छ?
म यहाँहरुको फलोइङको लिस्टमा परेकोमा आभारी छु, सँधै हाँसेर रमाइलो जिन्दगी जिउने कोसिस गरौँ, अर्काको चियोचर्चो, डाहा र इश्र्या गर्नेहरुभन्दा हामी १० वर्ष बढी बाँच्छौँ।
Discussion about this post