इटहरी : यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश १ मा रहेका १४ जिल्लाको प्रतिनिधिसभाका २८ तथा प्रदेशसभाका ५६ जना सदस्यका लागि मतदान हुने जम्मा एक हजार आठ सय ९७ मतदानस्थलका कुल चार हजार ९९ वटा मतदान केन्द्रको सुरक्षाका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नवीनराज राईका अनुसार निर्वाचनलाई सुरक्षित बनाउन प्रदेशभरि नेपाल प्रहरीका १९ हजार म्यादी र ११ हजार बढी प्रहरी परिचालित भइसकेका छन्।
यस्तै, सशस्त्र प्रहरी बल प्रदेश १ मुख्यालय इटहरी पकलीका अनुसार प्रदेशका १४ जिल्लाभरी कुल ५६ सय ५३ जना हतियारधारी सशस्त्र प्रहरी परिचालित भइसकेका छन्।
निर्वाचनलाई सुरक्षित बनाउन नेपाली सेनाले पनि आ–आफ्नो जिल्लामा बाहिरी क्षेत्रमा सशस्त्र हतियारसहित सुरक्षाको निगरानी गरिरहेको र मतदानका दिन अझै सक्रिय रूपमा गर्ने पृतना कार्यालयले जनाएको छ।
प्रदेश १ प्रहरीका कार्यालयका अनुसार निर्वाचनलाई सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त प्रदेश १ स्तरीय र जिल्लास्तरीय संयुक्त निर्वाचन सुरक्षा समिति पनि निर्माण भएको छ।
प्रदेश १ मा जम्मा १७ लाख २९ हजार सात सय ७२ जना पुरुष र १६ लाख ६७ हजार ७१ जना महिलासहित जम्मा ३३ लाख ९६ हजार आठ सय ६५ जना मतदाता छन् ।
प्रतिनिधिसभामा २८ पदका लागि चार सय ३८ र ५६ पदका लागि प्रदेशसभामा पाँच सय १० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा छन् ।
Discussion about this post