विराटनगर : विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको छ । बैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।
स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको थियो ।
प्रहरीका अनुसार बिवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० को राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।
राधाकुमारी सिह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन् ।
प्रतिक्रिया