पत्रकारमाथिको गालीबेइज्जती मुद्दामा बस्नेत र काफ्लेलाई सफाइ, आचार्यको दाबी अस्वीकार

आइतबार, ११ जेठ २०८२

विराटनगर : मोरङ जिल्ला अदालतले गालीबेइज्जती मुद्दामा पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफ्लेलाई सफाइ दिएको छ। न्यायाधीश अरुणकुमार झाको इजलासले २०८१ माघ ८ गते फैसला गरेको उक्त मुद्दाको पूर्णपाठ हालसालै सार्वजनिक भएको हो।

बेलबारीबाट प्रकाशित बेतना दैनिकका प्रधान सम्पादक बस्नेत र पथरीशनिश्चरेका पत्रकार काफ्लेसहित तीन जनाविरुद्ध २०८१ वैशाख २० गते मुरारी आचार्यले मुद्दा दायर गरेका थिए। आचार्य विराटनगर महानगरपालिका–४ निवासी तथा पथरीशनिश्चरे नगर अस्पतालका कर्मचारी हुन्।

अदालतले वादीको दाबी प्रमाणित हुन नसकेको ठहर गर्दै मुद्दा खारेज गरिदिएको हो। पत्रकारहरूविरुद्ध मुद्दा ती महिला कर्मचारीको पत्रकार सम्मेलनपछि परेको थियो। ती महिला कर्मचारीले आचार्यमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेकी थिइन्, जसको आधारमा बेतना दैनिकलगायतका मिडियामा समाचार प्रकाशित भएका थिए। त्यसैको आधारमा आचार्यले गालीबेइज्जती मुद्दा दायर गरेका थिए।

फैसला आउनुअघि ती महिला कर्मचारीले पनि आचार्यविरुद्ध यौन दुर्व्यवहारको छुट्टै मुद्दा दर्ता गरेकी थिइन्। सो मुद्दामा पनि आचार्यले सफाइ पाएका छन्। दुवै मुद्दामा अदालतले एकैसाथ सुनुवाइ गरी फैसला सुनाएको हो।

पत्रकार काफ्लेले भने, 'आफ्नो कर्तुत ढाकछोप गर्न आचार्यले मुद्दा हालेका थिए, तर अदालतबाट न्याय पायौं।' उनका अनुसार पीडित महिला कर्मचारीको भिडियो बयान मिडियाहरूले सुरक्षित राखेका छन्।

मुरारी आचार्य भने अदालतको फैसला स्वीकार्ने बताउँछन्। आफूमाथि लागेका अन्य आरोपबारे बोल्दै उनले फार्मेसी ठेक्काको विषय देशैभरको समस्या भएको बताए। 'अख्तियारले पनि सोधेको थियो, हामीले जवाफ दिइसकेका छौं। अब अस्पतालले नै फार्मेसी चलाउनेछ,' उनले स्पष्ट पारे।

आचार्यमाथि यसअघि पनि अस्पतालको फार्मेसी कमिसनमा ठेक्कामा दिनु, आन्तरिक नियुक्ति, नक्सा परिवर्तन, तथा दीर्घरोगी उपचारमा विभेद जस्ता आरोपहरू लाग्दै आएका छन्। तर उनले आफूले नियमसंगत काम गरेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार