काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष छ ।
‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस्,’ सापकोटाले भने ।
गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ ।
गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ ।
यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।
प्रतिक्रिया