इटहरी : इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजले उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका २७ जना विद्यार्थीलाई ३० लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गरेको छ।
कलेजमा एक औपचारिक कार्यक्रममार्फत कक्षा ११ मा भर्ना भएका छात्रवृत्तिप्राप्त विद्यार्थीहरूलाई एक तथा दुई वर्षे छात्रवृत्ति प्रदान गरिएको कलेज प्रशासनले जनाएको छ।
कार्यक्रममा कक्षा ११ का ९ जना विद्यार्थीलाई दुई वर्षे पूर्ण छात्रवृत्ति तथा १८ जनालाई एक वर्षे छात्रवृत्ति वितरण गरिएको हो। विज्ञान सङ्कायतर्फ दुई वर्षे पूर्ण छात्रवृत्तिमा सौरभ दाहाल, प्राञ्जली सापकोटा, शुर्दशन पौडेल, सुजल कार्की र सक्षम शाहले नाम समेट्न सफल भएका छन्। ती विद्यार्थीले जनही १ लाख ९४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत शशिकुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै, व्यवस्थापन सङ्कायतर्फ अदीक्षित खनाल, अबिशा धामी, सन्देश खड्का र नमन गौतमले दुई वर्षे पूर्ण छात्रवृत्तिमा नाम दर्ज गराएका छन्। उनीहरूले जनही १ लाख ४८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्।
एक वर्षे छात्रवृत्तिका लागि छनोट भएका १८ जना विद्यार्थीलाई वार्षिक शुल्क पूर्ण रूपमा माफ गरिएको क्याम्पस प्रमुख अनन्तकुमार सुबेदीले बताए। उनका अनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीलाई शैक्षिक शुल्क सहित अन्य शैक्षिक सुविधा समेत निःशुल्क उपलब्ध गराइनेछ।
कार्यक्रममा कोशी एकेडेमी प्रालिका अध्यक्ष मनु मञ्जिलले कलेजका विद्यार्थीहरूले हासिल गरेको शैक्षिक प्रगति तथा सफलताको चर्चा गरेका थिए।
वि.सं. २०५३ सालमा युवा शिक्षकहरूको पहलमा स्थापना भएको कोशी सेन्ट जेम्स कलेजले २०७६ सालमा कोशी प्रदेश सरकारले प्रदान गर्ने "प्रदेशकै उत्कृष्ट शिक्षालय" को उपाधि प्राप्त गरिसकेको छ।
स्नातक तहमा समेत राष्ट्रिय स्तरमा उत्कृष्टता प्रमाणित गरिसकेको कलेजले शिक्षामा नवप्रवर्तन र गुणवत्ता कायम गर्दै आएको बताइएको छ।
प्रतिक्रिया