विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा असार २७ गते बसेको गाउँसभामा खुकुरी देखाइएपछि उत्पन्न विवादले अहिले गाउँपालिकाको सम्पूर्ण कामकारबाही ठप्प भएको छ ।
गाउँपालिका अध्यक्ष नमोनारायण माझी पक्षधर नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले सभाहलमै खुकुरी बोकेर अन्य जनप्रतिनिधिलाई धम्की दिएको जाहेरी परे पनि जिल्ला प्रहरी कार्यालय मोरङ घटनालाई ‘राजनीतिक विषय’ भन्दै पन्छिएको छ । यसबीच गाउँपालिकाको बजेटसमेत अन्योलमा परेको छ ।
माओवादीबाट निर्वाचित अध्यक्ष माझी र नेकपा (एमाले) तथा नेपाली कांग्रेसका जनप्रतिनिधिबीच भएको विवाद चरम उत्कर्षमा पुगेपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधिले खुकुरी देखाएर डर, त्रास फैलाएको भन्दै कारबाहीको माग राखेरउजुरी दिएका थिए । उनीहरूले ग्रामथान–२ का राजन माझी, गयालाल माझी, ग्रामथान–१ का राजेश भगत र विष्णु माझीमाथि कारबाही माग गरेका हुन् । उजुरी अनुसार सभाहलमै बाउन्सरले सुरक्षा गार्डको खुकुरी खोसेर आक्रमणको प्रयास गरेका थिए ।
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती धामी थारुले उक्त घटनाको सीसीटीभी फुटेजमै खुकुरी आतंक मच्चाएको देखिने दाबी गरिन् । उनका अनुसार अध्यक्ष माझीले राखेका बाउन्सरमध्ये राजन माझीले सुरक्षा गार्ड अनिता चौधरीसँगको खुकुरी खोसेर सभाहलको ढोका छेकेर ‘काट्ने’ धम्की दिएका थिए । ‘सभाहलमा अध्यक्षसँग छलफल हुँदै थियो । विवाद चर्कियो । अनि अध्यक्षका पार्टीका मान्छे खुकुरी लिएर दौडिए,’ उनले भनिन्, ‘जनप्रतिनिधिको सुरक्षाका लागि राखिएको खुकुरी नै खोसिएर आतंक मच्चाइयो ।’
तर, अध्यक्ष नमोनारायण माझीले भने खुकुरी देखाइएको भन्ने कुरा हावादारी भएको दाबी गरेका छन् । ‘कसैले खुकुरी देखाएको प्रमाण छैन । कार्यकर्ताले बोकेको पनि होइन,’ उनले भने, ‘सुरक्षा गार्डले खुकुरी बोक्न सक् ।, त्यो सामान्य कुरा हो ।’
अध्यक्ष माझीका अनुसार अन्य पार्टीका जनप्रतिनिधिहरुले माओवादी अध्यक्ष भनेर आफूमाथि पूर्वाग्रही व्यवहार गरिरहेको र बजेट पास नहोस् भन्ने उद्देश्यले अनावश्यक हर्कत गरिरहेका छन् । ‘गाउँसभा बसेर छलफल गरौँ भन्दा उहाँहरु बहिष्कार गर्नुहुन्छ,’ उनले भने, ‘यस्ता विषयहरू छलफलबाट टुंगो लाग्ने खालका हुन् ।’
घटनापछि उपाध्यक्ष थारुसहित वडा नम्बर १ का वडाध्यक्ष सुरेश कुमार माझी, वडा नम्बर २ का यादव खतिवडा, वडा नम्बर ४ का बद्रीनारायण माझी, वडा नम्बर ५ का भेषनारायण चौधरी, वडा नम्बर ६ का वीरनारायण चौधरी, वडा नम्बर ७ का वीरेन्द्र चौधरी तथा कार्यपालिका सदस्य देवीकुमारी चौधरी र उसादेवी चौधरीले मोरङ प्रहरीमा लिखित उजुरी दिएका थिए । उजुरीमा उल्लेख छ, ‘विपक्षीहरूले सभाहलको ढोका छेकेर बाहिर निस्कन नदिइ काट्ने धम्की दिए । गालीगलौज गर्दै हुलदंगा गरे । त्रास फैलाए ।’ तर, प्रहरी प्रशासनले अहिलेसम्म उजुरी दर्ता गरेको छैन । अनुसन्धान भइरहेको भन्दै पन्छिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरीयाले गाउँसभामा खुकुरी देखिएको भन्ने उजुरीमाथि अनुसन्धान भइरहेको बताए । ‘सबै विषयको यथार्थ बुझेर प्रक्रियामा लैजान्छौं, हाल प्रारम्भिक अध्ययन हुँदैछ,’ उनले भने । तर, प्रहरीको यस्तो व्यवहारले घटनालाई दबाउन खोजिएको कि भन्ने आशंका जनप्रतिनिधिहरूमाझ फैलिएको छ ।
खुकुरी आतंकपछि गाउँपालिकाको बजेट पनि अन्योलमा परेको छ । असार १० गते अध्यक्ष माझीले विपक्षीको बहिष्कारका बीचमा आफैं बजेट पेस गरे पनि हालसम्म पास हुन सकेको छैन । गाउँसभा नै नबसेको कारण बजेट स्वीकृत नभइ काम ठप्प भएको उपाध्यक्ष थारुको भनाइ छ ।
अध्यक्ष माझीले भने जनप्रतिनिधिहरुकै असहयोगका कारण बजेट पास गर्न नसकिएको बताउँदै आएका छन् । ‘राजस्व संकलन रोकिएको छ । विकास निर्माण रोकिएको छ । जनताको सेवा प्रवाहमा बाधा पुगेको छ,’ उनले भने ।
तर, उपाध्यक्ष थारुले अध्यक्षले राखेका बाउन्सरले त्रास फैलाउँदा गाउँसभा बस्न नसकेको बताइन् । ‘बजेट पास गर्न अध्यक्ष आफैं गम्भीर हुनुहुन्न,’ उनको आरोप छ, ‘जसले समस्या सिर्जना गर्छ, उसैले गाउँसभा बस्न दिँदैन । फेरि आरोप अरूमाथि लगाइन्छ ।’
लोकतान्त्रिक प्रक्रियाको मूल थलो मानिने गाउँसभा हिंसात्मक वातावरणका कारण अवरुद्ध हुनु र प्रहरी प्रशासन मौन बस्नुले कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको जनप्रतिनिधिको आरोप छ । उनीहरुले यदि यस्ता घटनाहरूमा समयमै निष्पक्ष छानबिन र कारबाही भएन भने स्थानीय तहमा राजनीतिक आवरणमा देखिएको अराजकता र द्वन्द्व झनै बढ्न सक्ने बताए ।
प्रतिक्रिया