गजेन्द्र बने नेपालकै कान्छा 'डीएफओ'

विहीबार, ०८ साउन २०८२

इलाम : गजेन्द्र श्रेष्ठले नेपालकै कान्छो डिभिजनल वन अधिकृतको रूपमा पद बहाली गरेका छन् । प्रदेश लोक सेवा आयोग विराटनगरले प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, अधिकृत स्तर नवौँ तह, डिभिजनल अधिकृतको नतिजा गत असार १७ गते निकालेसँगै श्रेष्ठ डी एफ ओ बनेका हुन् । 

लगत्तै उनले  उदयपुर डिभिजन वन कार्यालयमा पद बहाली गरेका छन् ।  सुन्दरहरैंचा १ मोरङ निवासी श्रेष्ठ यस अघि इलाम जिल्लामा वन अधिकृतको रूपमा कार्यरत रहेका थिए । 

श्रेष्ठका बुबा दान बहादुर श्रेष्ठ समेत हाल भोजपुरका डिएफओ( दशौँ तह ) रहेका छन् । इलाम जिल्लाका पूर्व डी एफ ओ दान बहादुर र छोरा गजेन्द्र डिभिजन वन कार्यालयमा कार्यरत रहेका थिए । बाबु छोरा एकै कार्यालयमा प्रमुख र उप प्रमुख रहँदा चर्चा पाउने गरेको थियो । यसको रेकर्ड तोड्दै गजेन्द्रले बाबु छोरा नै एकै प्रदेशमा डी एफ ओ बन्ने रेकर्ड राखेका छन् ।

‘म जस्तै कम उमेरमा नवौँ तह उत्तीर्ण गरेका देशमा अन्य दुई जना हुनुहुन्छ । तर डी एफ ओ पद बहाली गर्ने अवसर पाउने म नै हुँ।’ उनले भने ।  उनी २०५० साल साउनमा जन्मिएर २०७३ साल गते रेन्जरको रूपमा वन सेवामा सुनसरीमा प्रवेश गरेका थिए । २०७४ सालमा  अधिकृत भएका थिए । 

रेन्जर, अधिकृत र डी एफ ओ जनजाति कोटाबाट उत्तीर्ण गर्ने श्रेष्ठले अवसर पाएका हुन् । श्रेष्ठसँगै काम गर्ने हाल धनकुटाका डी एफ ओ सञ्जीव ढकाल सानै उमेरमा पनि श्रेष्ठ अनुभवी र कुशल कार्य क्षमता भएको व्यक्ति भएको बताए । ढकालले गजेन्द्र श्रेष्ठले डी एफ ओ को रूपमा पनि राम्रो कार्य सम्पादन गर्ने क्षमता रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार