इलाममा एक अर्ब लागतमा बन्यो जोगमाई क्यास्केट जलविद्युत आयोजना

विहीबार, ०८ साउन २०८२

इलाम : इलामको जोगमाई खोलामा “माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजना” निर्माण सम्पन्न भएको छ । नव निर्मित आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । 

माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई दुई दशमलव ८ किलोमिटर लामो हेड रेस पाइपलाइन मार्फत असलेमा रहेको पावर हाउस सम्म पुर्‍याइ विद्युत् उत्पादन गरिएको छ  । आयोजनाका इन्जिनियर राजेन्द्र काफ्लेका अनुसार दुई सय ३० मिटर लामो पेन स्टक पाइप मार्फत उचाइबाट पावर हाउसमा विद्युत् उत्पादनका लागि लगिएको छ । आयोजना सम्पन्न भए पनि खोलामा पानीको बहाव न्यून भएकाले पर्याप्त विद्युत् उत्पादन लिन नसकेको आयोजनाले जनाएको छ । 

यहाँ रहेको पावर हाउसमा ५ दशमलव २ मेगावाट क्षमताको क्यास्केट आयोजनाको निर्माण समयमै पुरा भएको सान्भी इनर्जीका सञ्चालक हरिबाबु न्यौपानेले जानकारी दिएका छन् । 

२०७९ चैत्र महिनाबाट निर्माण सुरु भएको आयोजनाको मुख्य प्रभावित क्षेत्र माइजोगमाई गाउँपालिकाको ३ र ४ नम्बर वडामा रहेको छ । यसअघि प्रभावित क्षेत्र थप सुनपाका केही वडामा प्रभावित क्षेत्रका बासिन्दालाई शेयर बिक्री गरेको थियो । ३७ करोड ९० लाख बराबरको शेयर आयोजना प्रवर्द्धक सान्भी इनर्जीले सर्वसाधारणका लागि केही समय अगाडि बिक्री गरेको छ । 

इलामको जोगमाई खोलामा निर्माण भएको यो तेस्रो जलविद्युत आयोजना हो । नेविल बैङ्कको एकल लगानीमा सम्पन्न जोगमाई क्यास्केट आयोजनाको कुल लागत एक अर्ब रहेको छ । जोगमाई क्यास्केट आयोजना निर्माण सम्पन्न भएपछि इलाममा निर्माण भएका साना तथा मझौला जलविद्युत आयोजनाको सङ्ख्या १७ पुगेको छ । सिद्धि खोला र देउमाई खोलामा दुई आयोजना निर्माण भइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार